रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीसँगको समन्वयमा अनेरास्ववियु स्वास्थ्य विभाग र स्ववियु महाराजगन्ज क्याम्पसले मङ्गलवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५० विद्यार्थी सहित ५०० जनाले जनरल सेवा लिएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले बताउनुभयो । शिविरमा क्षयरोगको परीक्षण, आँखा परीक्षण र स्त्री रोगको परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको उहाँले बताउनुभयो ।
शिविर मार्फत गाउँमै सहज तवरले निःशुल्क स्वास्थ्य उपचार, आवश्यक औषधि साथै स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिव एवम् शिविरका विशेषज्ञ डा.सुजन कडरियाले बताउनुभयो । ‘‘आफ्नो जन्मथलोमा उन्नति र प्रगतिको सम्भावना नहुन पनि सक्छ, तर त्यस ठाउँलाई सुधार गरी आफूले जानेको ज्ञान र सीप छरछिमेकमा बाँड्दै उहाँहरुको जीवनस्तर उकास्नु नै समाजवाद हो’,उहाँले भन्नुभयो ।
विभिन्न निकायसँगको समन्वयमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गरी चिकित्सक सहितको स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकार लागि परेको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो । ‘बेला बेलामा यस्ता शिविरहरू सञ्चालन गरी यहाँका नागरिकहरूलाई कसरी हुन्छ आफ्नै ठाउँमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिन स्थानीय सरकार लागि परेको छ’, उहाँले भन्नुभयो । अनेरास्ववियु केन्द्रीय कमिटी सचिव डा. सुजन कडरियाको नेतृत्वमा सञ्चालन भएको शिविरमा एमाले स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख कमल जोशी, महाराजगन्ज मेडिकल क्याम्पस स्ववियु अध्यक्ष एवम् अनेरास्ववियु नेता आनन्द सिंह लगायतको उपस्थिति रहेको थियो ।
