स्थानीय आन्दोलित भएपछि अलपत्र आयोजनाको काम सुरु

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका योजनाहरूको अहिले धमाधम काम भइरहेको छ । आफ्नो गाउँको विकासे योजनाहरू लामो समयदेखि अलपत्र बनेको भन्दै स्थानीय आन्दोलित भएसँगै अलपत्र बनेका योजनाको काम निर्माण व्यवसायीले सुरु गरेका हुन् । मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९ पुरानागाउँ जोडिने कुल ७.३६ किलोमिटर सडक कालोपत्रेको काम लामो समयदेखि ठेकेदारले काम रोकेर अलपत्र बनाएको थियो । मन्थली नगरपालिका–८, चिसापानीमै निर्माणाधीन स्वास्थ्य चौकी भवन पनि अलपत्र अवस्थामा थियो । अहिले यो दुई वटै आयोजनाको काम धमाधम भइरहेको छ ।
मन्थली–चिसापानी–पुरानागाउँ सडक र स्वास्थ्य चौकी भवन लामो समयदेखि अलपत्र बन्दा पनि नियामक निकाय रमिते बनेको भन्दै स्थानीयवासी आन्दोलनमा छन् । विकास निर्माणमा भएको ढिलासुस्ती र नियामक निकायको गैर जिम्मेवारीप्रति खबरदारी गर्न मन्थली नगरपालिका–८ का चिसापानीवासी सङ्घर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका हुन् । सङ्घर्ष समितिले माघ १५ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी आयोजना निर्माणमा भएको लापरबाहीप्रति ठेकेदार कम्पनी, सांसद, प्रदेश सभा सदस्य, स्थानीय तह, नियामक निकाय, जिल्ला समन्वय समितिलगायत निकायमा जानकारी गराइए पनि कुनै सुनुवाइ नभएको भन्दै थप आन्दोलनको चेतावनी दिएको थियो । त्यसको केही दिनपछि निर्माण व्यवसायीले मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९ पुरानागाउँ जोडिने ७.३६ किलोमिटर सडक कालोपत्रे र स्वास्थ्य चौकी भवन निर्माणको काम सुरु गरेको हो ।
स्थानीय सङ्घर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएपछि निर्माण व्यवसायीले सडक र स्वास्थ्य चौकी भवनको काम सुरु गरेको स्थानीय भुवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘आफ्नो ठाउँमा सञ्चालन भएका योजनाहरू लामो समयदेखि अलपत्र हुँदा पनि निर्माण व्यवसायी लगायत सरोकारवाला निकाय रमिते बने । सरोकारवाला निकाय रमिते बनेकै कारण आफ्नो गाउँमा अलपत्र रहेका योजनाका बारेमा खरबदारी गर्न चिसापानीवासी आन्दोलित भएका छन् । पहिलाकै जस्तो काम गरे जस्तो गर्ने अनि फेरी विभिन्न बहानामा अलपत्र छाड्ने अवस्था रहे अझै सशक्त आन्दोलन हुन्छ ।’’
१८ महिनामा सम्पन्न हुने योजना साढे तीन वर्षमा पनि सकिएन
मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९ पुरानागाउँ जोडिने कुल ७.३६ किलोमिटर सडक २०७८ पुस २८ गतेसम्म कालोपत्रे सक्ने गरी रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ(कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको १७ करोड ८८ लाख ६१ हजार ८८० रुपैयाँ लगानीबाट कुल ७.३६ किलोमिटर सडकको नाला तथा गाभिनसहित कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । सो ठेक्काको १५ करोड ३२ लाख ७६ हजार ६८७ रुपियाँ भुक्तानी भएपछि निर्माण व्यवसायीले काम नै नगरी अलपत्र छाडेको थियो । यो सडक कालोपत्रेका लागि पटक पटक म्याद थप भएको थियो भने वडा कार्यालयको अग्रसरतामा निर्माण व्यवसायी र भौतिक पूर्वाधार विकास कार्यालयबिच २०७९ पुस ६ गते बैठक बसी २०७९ चैत मसान्तसम्म सडक निर्माण सम्पन्न गर्ने सहमति भएको थियो ।
सोही वडामा रहेको चिसापानी स्वास्थ्य चौकीमा २०७२ सालको महाभूकम्पले क्षति पु¥याएपछि २०७८ सालबाट नयाँ भवन निर्माणको काम सुरु भएको थियो । १५ महिनामा काम सक्ने गरी काम सुरु भएको स्वास्थ्य चौकी भवन निर्माणको काम निर्माण व्यवसायीले काम रोकेर अलपत्र बनाएको थियो । ठेकेदारले समयमै काम नसकेपछि पटक पटक म्याद थप भइसकेको छ । समयमै स्वास्थ्य चौकी भवन निर्माण नहुँदा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिएको छैन ।
अहिले लामो समयदेखि अलपत्र बनेको मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९ पुरानागाउँ जोडिने सडक कालोपत्रे र चिसापानी स्वास्थ्य चौकी भवन निर्माणको काम सुरु भएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । ‘‘सरोकारवालाको ताकेता र स्थानीयको आन्दोलनपछि निर्माण व्यवसायीले अलपत्र योजनाको काम सुरु गरेको छ । निर्माण व्यवसायीले चाडै काम सक्ने प्रतिविद्धताका साथ काम गरिरहेको छ । यहीँ रफ्तारमा काम भए आउँदो चैत सम्म सडक र स्वास्थ्य चौकी भवनको काम सकिन्छ होला ।’’