रामेछाप । नेपाल विद्यार्थी सङ्घ रामेछापले रामेछापको मन्थलीमा जारी गरिएको निषेधाज्ञा २४ घण्टाभित्र फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेविसंघ रामेछापले सोमबार रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई ज्ञापन पत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । नेविसंघले शान्तिपूर्ण अवस्थामा निर्बाध ढङ्गले रामेछाप जिल्ला चलिरहेको अवस्थामा जिल्लाको प्रशासनले आफ्नो अधिकारको अनावश्यक प्रयोग गरी आफू निम्छरो प्रशासन भएको पुष्टि गरेको जनाएको छ ।
सिङ्गो प्रशासनको हुर्मत लिने यो निर्णयको नेपाल विद्यार्थी सङ्घ रामेछाप घोर भर्त्सना गर्दै सो कार्यले नेपाल सरकार, गृह प्रशासनको बेइज्जत भएको नेविसंघको ठहर छ । रामेछाप जिल्लामा कुनै त्यस्तो हुल हुज्जत र अशान्ति फैलने कुनै पनि कार्य नभएको र भइहाले पनि नियन्त्रण गर्न नसकिने अवस्था सिर्जना भएमा मात्र निषेधाज्ञा जारी गर्नु पर्ने अधिकारको दुरुपयोग गरी निषेधाज्ञा जारी गरिएको भन्दै नेविसंघले २४ घण्टाभित्र निषेधाज्ञा फिर्ता लिन माग गरेको छ । यदि २४ घण्टाभित्र निषेधाज्ञा फिर्ता नभए प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै थप आन्दोलनको कार्यक्रमहरू गर्ने नेविसंघले चेतावनी दिएको छ । नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले प्रमुख जिल्ला अधिकारी निरौलालाई बुझाएको ज्ञापन पत्रमा माघ १४ गते प्रमुख जिल्ला अधिकारीज्यूबाट जारी भएको निषेधाज्ञाको आदेशका प्रति नेपाल विद्यार्थी सङ्घको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । शान्ति, सुशासन, अमन चयन कायम राख्नका लागि आवश्यक सबै पहल कदम नेविसंघले लिने र नागरिकको स्वतन्त्रता र निर्बाध रूपमा हिँड्न डुल्न भेला हुन कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि कुण्ठित गर्नु भनेको लोकतन्त्रको उपहास भएको नेविसंघको ठहर छ ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले माघ १४ गते आइतबार आदेश मार्फत रामेछापको मुख्य प्रशासनिक केन्द्र र त्यसको मुख्य आगमन मार्गहरूमा २ महिने निषेधाज्ञा जारी गर्नुभएको छ । स्थानीय प्रशासनले जिल्ला सुरक्षा समिति रामेछापको सिफारिस बमोजिम सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा माघ १४ गते आइतबारदेखि २ महिनासम्म भेला, अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्य गर्न निषेध गरेको छ । यी स्थानहरूमा दुई महिनासम्मका लागि अनसन, धर्ना र ५ जना भन्दा बढी व्यक्तिहरू भेला भई घेराउ, विरोध प्रदर्शन जस्ता आन्दोलन वा विरोधका कार्यक्रमहरू गर्न निषेध गरिएको छ ।
यसअघि रामेछाप नगरपालिका–१ गोठ गाउँ स्थायी ठेगाना भएकी बिनु यादव पति प्रदीप कठायतले घरमा बस्न नदिएको भन्दै घरमा बस्ने वातावरण बनाई पाउँ भनी ६ दिन जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेट अगाडि आमरण अनसन बस्नु भएको थियो । मन्थली नगरपालिका–१ भैसेसुर स्थित पतिको घरमा जाँदा पस्न नदिएको भनी बिनु घरमा बस्ने वातावरण बनाइ पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा गत हप्ताको आइतबारदेखि शुक्रवार सम्म अनसन बस्नुभएको थियो ।
हेर्नुहोस नेविसंघले प्रजिअलाई बुझाएको ज्ञापनपत्र

