रामेछापका सबै पालिकामा ‘‘१६ वर्ष पारी नागरिकता जारी’’ अभियान सञ्चालन

  • प्रकाशित मिति: शनिबार, माघ १३ २०८०
  • तामाकोशी

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै पालिकामा १६ वर्ष पारी नागरिकता जारी अभियान सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अपराध नियन्त्रण सम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा जानकारी दिई छलफल गर्ने उद्देश्यले जिल्ला प्रशासनले यो अभियान सञ्चालन गरेको हो ।

दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको जिल्लाको लिखुतमाकोशी गाउँपालिकाबाट गत भदौ १६ गतेबाट जिल्ला प्रशासनले यो अभियान सुरु गरेको थियो । शनिवार मन्थली नगरपालिकामा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी यो अभियानको समापन गरिएको छ । कार्यक्रममा नागरिकता लगायत सरकारी डकुमेन्ट बनाउन आवश्यक कागजातको बारेमा जिल्ला प्रशासन रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी गराउनुभएको थियो । उहाँले नेपालको संविधान र ऐन कानुन अनुसार प्रदान गरिदे वंशज, अङ्गीकृत ,गैर आवासीय नेपाली र सम्मानार्थ नेपाली नागरिकताका बारेमा जानकारी गराउँदै नागरिकता सिफारिस गर्दा वडा अध्यक्ष र वडा सचिवले ध्यान दिनुपर्ने विषयहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला प्रशासनमा आउने ९० प्रतिशत समस्या १६ वर्ष पुग्नसाथ नागरिकता नलिएकै कारण उत्पन्न भएको पाइएपछि जिल्लाका सबै पालिकामा १६ वर्ष पारी नागरिकता जारी अभियान सञ्चालन गरिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘छोरा हुन् वा छोरी १६ वर्ष पूरा हुने बित्तिकै नागरिकता बनाइदिने कुरामा अभिभावक सचेत हुनुपर्छ । अज्ञानताको कारणले कतिपय नागरिकले समयमा नै नागरिकता नलिँदा धेरै दुःख खेप्नु परेको देखेका छौँ । यही कुरालाई ध्यानमा राखेर यो अभियान सबै पालिकामा सञ्चालन हुन्छ।’’
सरकारी डकुमेन्ट बनाउन आवश्यक कागजातको बारेमा जानकारी नहुँदा नागरिकले दुःख पाउने भएकोले त्यसबारेमा जनप्रतिनिधिलाई जानकारी दिन पनि यो अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । ‘नागरिकता समयमा नै बनाइदिने हो भने धेरै समस्या समाधान हुन्छ, समयमा नागरिकता नबन्दा महिलाहरूले धेरै दुःख पाएका छन्, समयमा नै नागरिकता बनाइदिने कुरामा जनप्रतिनिधिको ठुलो भूमिका हुन्छ’, उहाँले भन्नुभयो । १६ वर्ष पुग्नसाथ नागरिकता नलिँदा र विवाह पश्चात् नागरिकतामा पति कायम नगरेकै कारण ४० वर्ष कटेका महिलाहरू विभिन्न समस्यामा पर्ने गरेको उहाँको भनाइ ।
मन्थली नगरपालिका वडा नं ७ भटौलीका वडा अध्यक्ष भुवनहरि प्रसाईँले जिल्ला प्रशासनले सञ्चालन गरेको १६ वर्ष पारी नागरिकता जारी अभियानले अनभिज्ञताका कारण दुबिधा भएको धेरै विषयहरूमा प्रस्ट बनाएको बताउनुभयो । यो अभियानले सेवा प्रवाहको विषयमा जनप्रतिनिधिलाई धेरै ज्ञान प्राप्त भएको उहाँको भनाइ छ । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले प्रशासनले सञ्चालन गरेको यो अभियानले नागरिकको मौलिक हक भन्दा पहिलो रहेको नागरिकताको सवालमा धेरै कुरा प्रस्ट पारेको बताउनुभयो । संविधानसभा सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले नागरिकता बारे जनप्रतिनिधि र कर्मचारीहरू प्रस्ट नहुँदा हुने कमजोरीका कारण जनताले दोहोरो तेहेरो दुःख पाइरहेको कुरामा सबै सचेत बन्नुपर्ने बताउनुभयो । यस्ता अभियानहरूलाई वडा तहसम्मै लगेर यस्ता विषयमा सरोकारवाला निकाय प्रस्ट हुनुपर्नेमा उहाँको जोड छ ।