रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछाप नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बन्दै गएको छ । वाग्मती प्रदेश सरकार अन्तरगत सञ्चालित यो अस्पताल २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको थियो । २०५० सालमा १५ शय्याको अस्पतालमा स्तरोन्नति भएको थियो । मुलुक सङ्घीय संरचनामा गएपछि आर्थिक वर्ष २०७५÷०७६ बाट वाग्मती प्रदेश अन्तरगतको अस्पतालको रूपमा सञ्चालनमा रहेको छ ।
अहिले आकस्मिक सेवाको ५ शय्या, २५ शय्याको वार्ड, आइसियु २ शय्या र डायलिसिस ५ शय्या गरी ३७ शय्या रहेको यो अस्पताल चालु आर्थिक वर्ष २०८०÷०८१ बाट ५० शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृत भएको छ । यो अस्पताले आफ्नो सेवा सुविधा विस्तार गर्दै लगे पनि यो अपेक्षित मात्रामा सर्वसाधारणको रोजाइमा पर्न भने सकेको छैन । यो अस्पतालबाट गत आर्थिक वर्ष २०७९÷०८० मा २० हजार ४१४ जनाले विभिन्न स्वास्थ्य उपचार सेवा लिएका थिए । चालु आर्थिक वर्षको मङ्सिरसम्म जम्मा १० हजार ६३५ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । यो तथ्याङ्कलाई हेर्दा यो अस्पतालबाट दैनिक ७१ जना र मासिक २ हजार १२७ जनाले स्वास्थ्य उपचार सेवा लिइरहेका छन् । अपेक्षित मात्रामा स्वास्थ्य सेवा लिने नागरिक अस्पताल नपुग्दा वर्षे नि अस्पतालमा विभिन्न सेवा सञ्चालनका लागि आएको करोडौँ बजेट फ्रिज समेत जाने गरेको छ ।
अस्पतालले प्रवाह गर्ने सेवाहरू सेवाग्राहीको पहुँचमा पुग्न सकेन
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ अस्पतालबाट उपलब्ध हुने सेवाका बारेमा आम नागरिकमा जानकारी नहुँदा अपेक्षित रूपमा अस्पतालमा बिरामी नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘‘जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बन्दै गएको छ । यो अस्पतालबाट निःशुल्क रूपमा धेरै सेवा प्रवाह भइरहे पनि यसका बारेमा सबै नागरिकलाई जानकारी नहुँदा यही पाइने सेवा लिन काठमाडौँ लगायतका अस्पताल गइरहेका छन् ।’’ यातायातको असुविधाको कारणले पनि अस्पतालले प्रवाह गर्ने सेवाहरू सेवाग्राहीको पहुँचमा पुग्न नसकेको उहाँको भनाइ छ ।
अस्पतालबाट निःशुल्क रूपमा प्रवाह भइरहेको सेवाहरु
यो अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्क खाना तथा खाजाको र निःशुल्क शय्याको व्यवस्था गरेको छ । त्यसै गरी गर्भवती महिला र कुरुवालाई मातृ गृहमा निःशुल्क बस्ने र खाने, थाइरोइड जाँच, भिटामिन, कल्चर लगायतका ल्याब सम्बन्धी विशेष जाँच पनि निःशुल्क गर्दै आएको छ । यस बाहेक मुख्यमन्त्री जनता स्वास्थ्य जाँच कार्यक्रम मार्फत विभिन्न स्वास्थ्य जाँच तथा उपचार सेवा पनि निःशुल्क प्रदान गर्दै आएको छ । अस्पतालले सामाजिक सेवा इकाई, मानसिक स्वास्थ्य सेवा, नाक, कान, घाँटी रोगसम्बन्धी जाँच, ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री वितरण लगायतका सेवा पनि निःशुल्क सञ्चालन गरिरहेको छ । त्यसै गरी विपन्न नागरिक उपचार कोषद्वारा हेमोडायलाईसिस सेवा, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु स्वास्थ्य स्क्रिनिङ तथा उपचार, प्रसूति सम्बन्धी आकस्मिक रूपमा रेफर लगायतका सेवा पनि अस्पतालले निःशुल्क रूपमा सञ्चालन गर्दे आएको छ ।
जिल्ला अस्पताल रामेछापले आफ्नो सेवालाई व्यापक मात्रामा विस्तार गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष यामकुमार पाख्रिनले बताउनुभयो । ५० शय्याको यो अस्पतालबाट धेरै स्वास्थ्य जाँच तथा उपचार सेवा सञ्चालन भइरहँदा पनि यसको आवश्यक प्रचार प्रसार र यातायात सुविधा नहुँदा अपेक्षा गरे अनुसारका नागरिक उपचारका लागि अस्पताल नआएको उहाँको भनाइ छ । ‘जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बन्दै गएको छ, तर यहाँ उपचारका लागि आउने नागरिकलाई यातायातको सुविधा छैन, जसका कारण यहाँको सेवा सुविधा अपेक्षित रूपमा सर्वसाधारणको पहुँचमा पुग्न सकेको छैन’, उहाँले भन्नुभयो । अस्पतालको सेवा धेरै भन्दा धेरै नागरिकको पहुँचमा पु¥याउन अहिले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको समन्वयमा संयुक्त नगर बस सञ्चालनका लागि अस्पतालले पहल गरिरहेको उहाँको भनाइ छ ।
