मुख्य आम्दानीको श्रोतको ठेक्का नलाग्दा मन्थली नगरपालिकाको आम्दानी न्यून

  • प्रकाशित मिति: बिहिबार, माघ ११ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको आन्तरिक आम्दानीको मुख्य श्रोतहरू ठेक्का लाग्न नसक्दा न्यून मात्रामा आन्तरिक आम्दानी गरेको छ ।

नगरको मुख्य आम्दानीको श्रोत ढुङ्गा, गिटी, बालुवा, तीनलाल पर्यटकीय पार्क र व्यावसायिक प्रायोजनका लागि निर्माण गरिएको कम्प्लेक्स भवनको सटरहरू ठेक्का नलाग्दा आन्तरिक आम्दानी न्यून भएको हो । नगरले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ३१ प्रतिशत मात्रै आन्तरिक आम्दानी गरेको छ । मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि पुससम्म लक्ष्यको जम्मा ३१ दशमलव ५६ प्रतिशत अर्थात् एक करोड ३५ लाख ६९ हजार ५८ पैसा आम्दानी भएको राजश्व उपशाखा प्रमुख दिलकुमार मानन्धरले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा मालपोत बाहेक आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरूबाट ४ करोड ३० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिएको थियो ।
उहाँले भन्नुभयो ‘‘यो बेलासम्म लक्ष्यको ५० प्रतिशत आन्तरिक आम्दानी हुनुपर्ने हो । नगरको मुख्य आम्दानीका श्रोत मानिएको ढुङ्गा, गिटी, बालुवा, तीनलाल पर्यटकीय पार्क र व्यावसायिक प्रायोजनका लागि निर्माण गरिएको कम्प्लेक्स भवनको सटहरू ठेक्का नलाग्दा आन्तरिक आम्दानी कम भएको हो ।’’ नगरपालिकाको मुख्य आम्दानीको श्रोतका रूपमा हेरिएका ढुङ्गा, गिटी, बालुवाको आय ठेक्का लाग्न सकेको छैन । त्यसै गरी नगरपालिकाको वडा नं १ हाटे चौर स्थित निर्माण भएको नगरको गौरवको आयोजना तीनलाल पर्यटकीय पार्क र ट्राफिक चोकमा व्यावसायिक प्रयोजनका लागि निर्माण भएको कम्प्लेक्स भवनका सटरहरू ठेक्का लाग्न सकेका छैनन् । नगरको मुख्य आम्दानीको श्रोत ढुङ्गा, गिटी, बालुवा, तीनलाल पर्यटकीय पार्क सटर सञ्चालनका लागि नगरले पटक पटक सार्वजनिक सूचना गरी ठेक्का बन्दोवस्तीको प्रयास भइरहेको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पटक पटक सार्वजनिक सूचना आह्वान गर्दा पनि ठेक्का नलागेपछि फेरी माघ ८ गते तीनलाल पर्यटकीय पार्क र कम्प्लेक्स भवनको ६ वटा सटरको सिलबन्दी बोलकबोलका लागि सूचना प्रकाशन गरिएको छ ।