रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले सामुदायिक मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम दिएको छ । सुनापति गाउँपालिकाको न्यायिक समितिले यस अघि मेलमिलापको तालिम लिई वडा स्तरमा उत्पन्न भएको विवाद समाधानका लागि काम गरिरहेका मेलमिलाप कर्ताहरूलाई माघ ५,६ र ७ गते तीन दिने पुनर् ताजगी तालिम दिएको हो ।
यो पटक गाउँपालिकामा मेलमिलापका माध्यमबाट विवाद समाधानका लागि काम गरिरहेका २५ जना मेलमिलाप कर्ताहरूलाई तालिम दिएको गाउँपालिकाकी कानुनी सहजकर्ता प्रतिमा मोक्तानले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘स्थानीय स्तरमा उत्पन्न भएका विवादहरू स्थानीय स्तरमै मेलमिलापका माध्यमबाट समाधान गर्न मेलमिलाप कर्ताको भूमिका राम्रो छ । यो पुनर् ताजगी तालिमले मेलमिलाप कर्ताको यो भूमिकालाई अझै प्रभावकारी बनाउँदै उनीहरूको सक्रियता बढाउन मद्दत गर्ने अपेक्षा गाउँपालिकाको छ ।’’
मेलमिलापकर्ताले मेलमिलापको काम गर्दाका अनुभव आदानप्रदान गरी काम गर्ने क्रममा देखिएका समस्या समाधानको उपाय खोज्न पुनर् ताजगी तालिम दिइएको गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईँले बताउनुभयो । ‘स्थानीय स्तरका विवाद समाधानमा मेलमिलापकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ, त्यसैले उहाँहरूको क्षमता विकासको लागि गाउँपालिकाले सक्दो सहयोग गर्छ, अहिले पालिकाले तालिमको आवश्यकता महसुस गरेरै उहाँहरूको माग अनुसार यो तालिम राखिएको हो’, उहाँले भन्नुभयो । पुनर् ताजगी तालिमले मेलमिलापकर्ताको कार्यक्षमता अझ बढ्ने उहाँको विश्वास छ ।
तालिमका सहभागीहरूले व्यवहारिक अभ्यासमा जाँदा फरक खालका समस्या भोग्नु परिरहेको अवस्थामा यो तालिम ती समस्याहरूका बारेमा छलफल गरी समाधानको उपाय खोज्न उपयुक्त भएको बताएका छन् । यो तालिमले स्थानीय स्तरमा उत्पन्न भइरहेका विवादहरूको मेलमिलाप मार्फत स्थानीय स्तरमै समाधान खोज्न आफूहरूको सक्रियता अझै बढाउन मद्दत पुग्ने सहभागीहरूको भनाइ छ । तालिमको सहजिकरण अधिवक्ता पाण्डव प्रसाईँ र मानवअधिकारकर्मी नवराज पथिकले गर्नुभएको छ ।