मन्थलीमा एकल आमाको जीवन, सङ्घर्ष दर्साइएकोे चलचित्र ‘बगान’ प्रदर्शन

  • प्रकाशित मिति: शनिबार, माघ ६ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्त्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ प्रदर्शन गरिएको छ । शनिवार मानव अधिकारको लागि एकल महिला समूह जिल्ला समिति रामेछाप र मन्थली नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नेपाली चलचित्र बगान प्रदर्शन गरेको हो ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका एकल महिलाहरूलाई लक्षित गरी निःशुल्क चलचित्र बगान प्रदर्शन गरिएको हो ।
चलचित्र प्रदर्शन कार्यक्रममा बोल्दै मानव अधिकारको लागि एकल महिला समूह जिल्ला समिति रामेछापकी संस्थापक अध्यक्ष प्रमीला सापकोटाले चलचित्र बगानले एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्वलाई यथार्थ चित्रण गरेको चेतनामूलक कथा बोकेकाले रामेछापका एकल महिलाहरूलाई लक्षित गरी प्रदर्शन गरिएको बताउनुभयो ।
मानव अधिकारको लागि एकल महिला समूह जिल्ला समिति रामेछापले विगत लामो समयदेखि जिल्लाका एकल महिलाहरूको हक, हित र अधिकारका लागि काम गर्दै आएको उहाँको भनाइ छ । २०६५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर मानव अधिकारको लागि एकल महिला समूह जिल्ला समिति रामेछाप एकल महिलाहरूको हक, हित र अधिकारका लागि सङ्घर्षरत रहेको उहाँले बताउनुभयो ।
चलचित्र बगानका निर्देशक तथा अभिनेता सरोज खनालले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि चलचित्रको स्वरूप दिएको बताउनुभयो । २१ औँ शताब्दीमा पनि आफ्नो अधिकारका लागि एकल महिना लडिरहनु दुःखद कुरा भएको उहाँको भनाइ छ । चलचित्र ‘बगान’मा नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठ लगायत कलाकारको अभिनय छ । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुको छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स तथा रेनिश फागोको रङ्ग संयोजन गरेका छन् ।