रामेछाप । चालु आर्थिक वर्षको ६ महिनामा रामेछापका स्थानीय तहको विकास बजेट खर्च न्यून देखिएको छ । हिउँदै अधिवेशन सकेका नगरपालिका तथा गाउँपालिकाको प्रगति विवरण हेर्दा यहाँका स्थानीय तहले अपेक्षित विकास बजेट खर्च गर्न सकेका छैनन् ।
यहाँका स्थानीय तहहरू अझै असारे विकासको मानसिकताबाट मुक्त हुन नसकेको स्थानीयको गुनासो छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विनियोजित बजेटको कुल २२ प्रतिशत बजेट खर्च गरेको छ । यो अवधिमा मन्थली नगरपालिकाले विकास बजेट (पुँजीगत) तर्फ १२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । नगरपालिकाले यो अवधिमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको एक अर्ब १३ करोड ५ लाख ४३ हजार बजेट मध्ये पुस २४ गतेसम्म चालु तर्फ २७ र पुँजीगत तर्फ १२ प्रतिशत बजेट खर्च गरेको छ ।
रामेछाप नगरपालिकाले ६ महिनामा विकास खर्चको जम्मा सात प्रतिशत बजेट मात्रै खर्च गरेको छ । नगरपालिकाले चालु तर्फ झन्डै २८ प्रतिशत बजेट खर्च गर्दा विकास बजेट भने न्यून मात्र खर्च गर्न सकेको हो । यो नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा चालु तर्फ ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै पुँजीगत अर्थात् विकास खर्च तर्फ २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ रुपैयाँ विनियोजन गरेको थियो । यो अवधिमा चालु तर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ अर्थात् २७ दशमलव ६२ प्रतिशत र पुँजीगत तर्फ १ करोड ७१ लाख १ हजार ६ सय ९१ अर्थात् ७ दशमलव १४ प्रतिशत मात्र खर्च गरेको छ । यस्तै जिल्लाको गोकुलगंगा गाउँपालिकाले झन्डै ६ महिनाको अवधिमा १२ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षका लागि करिब ६२ करोड रुपैयाँको बजेट बनाएको यो पालिकाले चलु तर्फ ३१ दशमलव ९७ प्रतिशत र पुँजीगततर्फ १२ प्रतिशत गरी कुल २३ दशमलव ०४ प्रतिशत बजेट खर्च गरेको छ ।