रामेछापको उच्च पहाडी क्षेत्रमा पहिलो पटक हिउँ परेपछि किसान खुसी

  • प्रकाशित मिति: बुधबार, माघ ३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको उच्च पहाडी क्षेत्रहरूमा यो वर्ष पहिलो पटक हिमपात भएपछि किसानहरू खुसी भएका छन् । गत वर्ष मङ्सिर, पुसमा नै पटक पटक हिउँ पर्ने जिल्लाको सैलुङ लगायतका उच्च पहाडी क्षेत्रमा हिउँ नपर्दा किसानहरू चिन्तामा थिए ।
यो वर्ष ढिला गरी माघ लागेपछि मात्रै हिमपात भएपछि चिन्तामा रहेका किसानलाई केही राहत भएको छ ।
जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाको सैलुङ खोला खर्क र उमाकुण्ड गाउँपालिकाको लाछेवर, छागेतिर लगायत उच्च क्षेत्रमा मङ्गलवार र बुधवार हिमपात भएको छ ।
दोरम्बा सैलुङ गाउँपालिकाको सैलुङ खोला खर्क क्षेत्रमा पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘गत वर्षहरूमा यहाँ मङ्सिर, पुसमा नै पटक पटक हिमपात हुन्थ्यो । यो वर्ष माघ लागेपछि मात्र हिउँ परेको हो । यो वर्षको हिउँदमा हिउँ पर्दैन कि भनेर चिन्तामा रहेका यहाँका किसानहरूलाई केही भए पनि राहत भएको छ ।’’ हिउँ परेसँगै आलु लगायतका कृषि उपजको राम्रो उत्पादन हुने भन्दै किसानहरू खुसी भएको उहाँले बताउनुभयो । मङ्गलवारदेखि सुरु भएको हिमपात बुधवार बिहान सामान्य भएको उहाँले बताउनुभयो ।
उमाकुण्ड गाउँपालिकाको छागेतिर, लाहाछेवर लगायता उच्च भेगमा पनि पनि हिउँ परेको छ । यो क्षेत्रमा यो वर्ष पहिलो पटक हिमपात भएको स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । यो वर्ष पहिलो पटक हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै रामेछापका उच्च पहाडी क्षेत्रका किसानहरू खुसी भएका छन् । रामेछापको उच्च पहाडी भेगमा आलु, गहुँ, उवा तथा तरकारी राम्रो उत्पादन हुने गर्दछ ।