रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको प्रेस चौतारी नेपाल विशेष पत्रकारिता पुरस्कार प्रदान गर्नको लागि छनोट समिति गठन गरेको छ ।
संगठनको शनिबार सम्पन्न बैठकले प्रेस चौतारी नेपालको स्थापना दिवसको दिन प्रदान गरिने सो पुरस्कार प्रदान गर्ने व्यक्ति छनोटको लागि समिति गठन गरेको हो । संगठनका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संगठनका निवर्तमान केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष युनिकविफा घिसिङको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा संगठनका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष नवराज श्रेष्ठ र प्रदेश सदस्य नवराज बिक रहनुभएको छ । प्रेस चौतारी नेपालको संस्थागत विकास र पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने एक जनालाई हरेक वर्ष प्रेस चौतारी नेपाल रामेछापले सो पुरस्कार प्रदान गर्दै आएको छ । यस अघि सो पुरस्कारबाट नवराज पथिक र युनिकविफा घिसिङ सम्मानित भइसक्नु भएको छ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको दिन माघ २२ गते सो पुरस्कार प्रदान गरिने संगठनका जिल्ला सचिव निरोजकुमार थापाले जानकारी दिनुभयो । बैठकले स्थापना दिवस मनाउन दिवस मूल आयोजक समिति समेत गठन गरेको सचिव निरोज थापाले बताउनुभयो ।