मन्थली नगरले ६ महिनाभित्र नतिजा आउने गरी फोहोर व्यवस्थापनको काम गरिरहेको छ : प्रवक्ता श्रेष्ठ

  • प्रकाशित मिति: बिहिबार, पुष २६ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले अबको ६ महिनाभित्र फोहोर व्यवस्थापनको काम गर्ने जनाएको छ । नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले अबको ६ महिनाभित्र नतिजा आउने गरी मन्थली नगरपालिकाले फोहोर व्यवस्थापन काम गरिरहेको बताउनुभयो । लामो समयदेखि मन्थली बजार क्षेत्रका फोहोरको दिगो व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।

अहिलेसम्म फोहोर फाल्ने ठाउँको समेत व्यवस्थापन नहुँदा नगरले बजारको फोहोर सङ्कलन गरेर मन्थली नगरपालिका–१ स्थित तामाकोशी किनारमा अव्यवस्थित रूपमा फाल्दै आएको छ । बिहीबार मन्थली नगरपालिका नगर सभाको निर्णयहरू सार्वजनिकीकरण र पत्रकारसँग अनुभव आदान प्रदान कार्यक्रममा वडा नं ८ चिसापानीका वडा अध्यक्ष समेत रहनुभएका प्रवक्ता श्रेष्ठले फोहोर व्यवस्थापनमा नगरपालिका लागि रहेको बताउनुभयो । । उहाँले भन्नुभयो ‘‘मन्थली नगरपालिकाको दिगो फोहोर व्यवस्थापन गर्ने विषयमा गम्भीर ढङ्गले लागेको छ । यसअघि पनि फोहोर फ्याँक्ने डम्पीङ साइड निर्माणका लागि धेरै प्रयास गरिएको हो । यो कामका लागि वडा अध्यक्षहरूकै सक्रियता देखिएको छैन । जे भए पनि अबको ६ महिनाभित्र नतिजा आउने गरी नगरले फोहोर व्यवस्थापनको काम गरिरहेको छ ।’’
उहाँले मन्थली नगरपालिका, नगर सभाको १४ औँ अधिवेशनले विधेयक समिति, विधायन समिति र कार्यपालिकामा दफावार छलफल पछि बनेको स्थानीय वन विधेयक २०८० स्वीकृत गरेको बताउनुभयो । नगरले गौरवको रूपमा अगाडि बढाइ अहिले सञ्चालनमा रहेको १५ बेडको मन्थली नगर अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालको रूपमा स्थापन गर्न आवश्यक पहल कदमी लिने निर्णय गरेको पनि बताउनुभयो । त्यसै गरी वाग्मती प्रदेश सरकार र नगरपालिको ६०÷४० साझेदारीमा निर्माण भएको चिस्यान केन्द्रलाई ६०÷४० कै लागत साझेदारीमा सञ्चालन गर्न प्रदेश सरकारलाई पुनः अनुरोध गर्ने पनि निर्णय गरिएको छ उहाँले भन्नुभयो ।