रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विनियोजित बजेटको कुल २२ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले यो अवधिमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको एक अर्ब १३ करोड ५ लाख ४३ हजार बजेट मध्ये पुस २४ गतेसम्म चालु तर्फ २७ र पुँजीगत तर्फ १२ प्रतिशत बजेट खर्च गर्न सकेको हो । बुधबार आयोजित १४ औँ नगरसभामा नगरप्रमुख लब श्रेष्ठले यसबारेमा जानकारी दिनुभएको हो । नगरपालिकाबाट स्वीकृत भएका ठुला साना गरी ३ सय ५१ वटा योजना र कार्यक्रम मध्ये १ सय १२ वटा योजना सम्झौता भई कार्यान्वयनमा गएका ४१ वटा योजनाको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । नगरपालिकाका यस वर्षका २ सय ३९ वटा योजना सम्झौता हुन बाँकी रहेका उनले जानकारी दिनुभयो । नगर र वडा साझेदारीका योजना मध्ये पाँचवटा योजना ठेक्का सम्झौताको चरणमा रहेका अन्य योजना बोलपत्र आह्वानको चरणमा हरेको उहाँले बताउनुभयो ।
सभामा नगरप्रमुख श्रेष्ठले आन्तरिक राजश्व तर्फ ४ करोड ४३ लाख आम्दानी हुने अपेक्षा राखिएकोमा १ करोड ३२ लाख ९५ हजार रुपैँया राजश्व संकलन भएको जानकारी दिनुभयो । नगरपालिकाको मुख्य आम्दानीको स्रोत ढुङ्गा, गिटी, बालुवा ठेक्का लाग्न नसकेको कारण सोचे अनुसारको राजश्व उठ्न नसकेको बताए । ढुङ्गा, गिटी बालुवा, नगरपालिकाका व्यावसायिक भवन तथा पार्कहरू ठेक्कामा लगाउने प्रक्रियामा रहेका उहाँले बताउनुभयो । नगरपालिकाले कृषि क्षेत्रको प्रवर्धन र प्रोत्साहनको लागि उत्पादनमा आधारित अनुदान वितरण, समूह र फार्ममा आधारित कृषिलाई प्रोत्साहन, रैथाने बाली प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । यसै गरी कृतिम गर्भाधान, लम्पिस्किन, पीपीआर लगायतका रोग विरुद्धको भ्याक्सिन कार्यक्रम, रेबिज विरुद्धको खोप तथा सामुदायिक कुकुरको बन्ध्याकरण लगायतका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । त्यस्तै डेरीमा दूध बेच्ने किसानलाई प्रतिलिटर दुई रुपैँया अनुदान दिएको उहाँले जनकारी दिनुभयो । समुदायमा आधारित लघु उद्यमी सिर्जना र विकासका लागि रोजगार कार्यक्रम सञ्चालन गरिएको उनले बताए । त्यस्ता उद्यमीलाई तालिम र प्रविधि हस्तान्तरणको कार्यक्रम अघि बढाएको श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका भित्र सञ्चालनमा रहेको ७६ वटा विद्यालय मध्ये ४१ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्त गरेको, नगरका २४ वटै स्वास्थ्य संस्थामा नेपाल सरकारको मापदण्ड अनुसार निःशुल्क उपचार सेवा प्रवाह गरेको, मन्थली नगर अस्पतालमा १५ शय्या सञ्चालन गरी विभिन्न परीक्षण तथा उपचार सेवा प्रवाह गरेको, गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल आउन जान र काठमाडौं रिफर गर्नुपरेको अवस्थामा समेत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको तथा छोरीको जन्मलाई प्रोत्साहन गर्न सन्तति बचत प्रोत्साहन कार्यक्रम लागु गरिएको श्रेष्ठले बताउनुभयो । यसै गरी बालमैत्री नगर घोषणाको लागि आवश्यक गतिविधि भई रहका उनले जनाकारी दिनुभयो । पूर्वाधार तर्फ नगरपालिकाको वडा नं ८ को वडा कार्यालय भवन निर्माण भई सेवा सञ्चालनमा आएको, वडा नं ७ को निर्माण सम्पन्न भएको, वडा नं ३, ११ र १३ का भवन निर्माण भइरहेका र वडा नं ४, ५, ९, १२ जग्गा प्राप्तिको क्रममा रहेको उहाँले बताउनुभयो । संघीय र प्रदेश सरकारसँगको सहकार्यमा नगरपालिका भित्र विभिन्न सडक निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा न्यायिक समितिमा जिम्मेवारी सरेर आएका सहित २० वटा विवाद दर्ता भएकामा दुईवटा निरूपण भएका र अन्य प्रक्रियामा रहेका उहाँले बताउनुभयो । बिरामीको चाप बढी भएको कारण मन्थली अस्पताललाई १५ बेडबाट बढाएर ५० बेडको प्रादेशिक अस्पतालको लागि स्तरोन्नति गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै मन्थलीमा निर्माण भएको चिस्यान केन्द्रको केही काम बाँकी रहेकोले सो कार्य सम्पादनको लागि पनि प्रदेश सरकारलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
