रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगर कार्यपालिका प्रवक्ताको जिम्मा गोपाल श्रेष्ठलाई दिएको छ । नगर कार्यपालिकाको २१ औँ बैठकले मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि नगरको प्रवक्ताको जिम्मेवारी कोही पनि थिएनन् ।
बैठकले विधायिका अधिकारको रूपमा रहेको मन्थली नगरपालिकाको चौथो हिउँदे विधेयक अधिवेशन बुधबार गर्ने निर्णय पनि गरेको छ । यसै गरी आर्थिक वर्ष २०८१÷०८२ का लागि सङ्घीय समपूरक र विशेष अनुदान तथा प्रदेश समपूरक र विशेष अनुदानका लागि विभिन्न आयोजना राष्ट्रिय योजना आयोग र वाग्मती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउने निर्णय पनि बैठकले गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० अनुसार नवप्रवर्तनमा आधारित आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्न मापदण्ड पूरा भएका स्थानीय तहको सूचीमा मन्थली नगरपालिकालाई समेत समावेश भएकोले कार्यविधिको पूर्ण परिपालना गर्दै नवप्रवर्तनमा आधारित आर्थिक विकासका कार्यक्रम सञ्चालनको लागि मन्त्रालयबाट प्राप्त हुने रकममा नगरपालिकाको तर्फबाट २५ प्रतिशत लागत साझेदारी बेहोर्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।