रामेछाप । रामेछापमा तोकिए भन्दा झन्डै दोब्बर बढी भाडा असुल्ने शव वाहन कारबाहीमा परेको छ । जिल्लाको रामेछाप नगरपालिका द्वारा सञ्चालित शव वाहन चाकले पीडितसँग तोकिए भन्दा बढी भाडा लिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले कारबाही गरेको हो ।
पीडितले बढी भाडा लिएको उजुरी दिएपछि ट्राफिक प्रहरी कार्यालय रामेछापले मंगलबार चालक राज कुमार कार्कीलाई कारबाही गर्दै बढी भाडा समेत फिर्ता गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘रामेछाप नगरपालिकाको बा २ झ ४४२२ नम्बरको शव वाहनले मन्थलीबाट काठमाडौँसम्मको भाडा १३ हजार ९०० सय हुनु पर्नेमा २२ हजार ८०० रुपैयाँ भाडा लिएको उजुरी आयो । प्रहरीले चालक र पीडित पक्षलाई कार्यालयमा उपस्थित गराएर छलफल गर्दा ८ हजार ९००बढी भाडा लिएको पाइयो । बढी भाडा फिर्ता गराई बढी भाडा लिने शव वाहनलाई एक हजार रुपैयाँ जरिवाना काटिएको छ ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लामा पाँच महिनाको अवधिमा तीन हजार ५०० बढी सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि मङ्सिर महिनासम्म ट्राफिक नियम विपरीत सञ्चालन भएका साना तथा ठुला गरी तीन हजार ७५६ वटा सवारीलाई कारबाहीमा परेका छन् । पाँच महिनाको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी कारबाहीबाट ३२ लाख ८३ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप प्रमुख चौलागाईँले बताउनुभयो । यो अवधिमा जिल्लामा १५ वटा सडक दुर्घटना भएको र दुर्घटनामा परी एक जनाको ज्यान गएको उहाँले बताउनुभयो ।
