विद्यालयबाट फर्किँदै गरेकी किशोरीलाई जबरजस्ती गरेको आरोपमा युवक पक्राउ

  • प्रकाशित मिति: बिहिबार, पुष ५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापमा विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
यही पुस ३ गते दिउँसो जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ खिम्ती स्थित रहेको डल्ले चौताराको जङ्गल हुँदै आफ्नो घर गइरहेकी १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही गाउँपालिकाको सोही वडाका वर्ष २२ का अम्बरबहादुर कडरिया बुधवार पक्राउ परेका हुन् । कडरिया जबरजस्ती करणी गरी फरार भएका थिए ।
पीडितले दिएको उजुरीको आधारमा खोजी कार्य गर्ने क्रममा आरोपितलाई बुधवार पक्राउ गरी जिल्ला अदालत रामेछापबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले बताउनुभयो । रामेछाप पछिल्लो तीन दिन यता जबरजस्ती करणी गर्ने दुई जना र जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
पछिल्लो तीन दिन यता यी घटनाहरूमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ५ नागदहका एक जना, वडा नं ६ खिम्तीका एक जना र वडा नम्बर ७ तिल्पुङका एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछापमा गत आर्थिक वर्ष २०७९÷०८० मा जबरजस्ती करणीका १२ वटा र जबरजस्ती करणी उद्योगका ३ वटा घटना भएका छन् ।