रामेछाप । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा साताव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यो वर्ष आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस लक्षित साताव्यापी रूपमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइरहँदा रामेछापमा पाँच वर्षको अवधिमा वैदेशिक रोजगारीमा विभिन्न देश गएका ४१ जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका १० जना अङ्गभङ्ग भएर फर्किएका छन् । सोमबार सदरमुकाम मन्थलीमा मन्थली नगरपालिकाले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रममा हेल्भेटासका कार्यक्रम संयोजक भोजराज सुनुवारले पाँच वर्षमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका रामेछाप जिल्लाका ४१ जनाको मृत्यु भएको र १० जना अङ्गभङ्ग भएर फर्किएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ३ जना, २०७६÷०७७ मा ४ जना, २०७७÷०७८ मा १२ जना, २०७८÷०७९ मा १४ जना र २०७९÷०८० मा ८ जना रामेछापबाट वैदेशिक रोजगारीमा गएकाले ज्यान गुमाएका छन् । पाँच वर्षकै अवधिमा वाग्मती प्रदेशमा वैदेशिक रोजगारीमा गएका ६५५ जनाले ज्यान गुमाएको र १६७ जना अङ्गभङ्ग भएर फर्किएको कार्यक्रम संयोजक सुनुवारले बताउनुभयो ।
दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो मात्रामा छ । गत आर्थिक वर्ष २०७९÷०८० मा रामेछापका ७ हजार ५६२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएको सरकारी तथ्याङ्क रहेको सुरक्षित आप्रवासन आयोजना मन्थलीका संयोजक दीपक केसीले बताउनुभयो । उहाँका अनुसार यो सङ्ख्या यस अघिको आर्थिक वर्ष २०७८÷०७९ को भन्दा दुई हजार २२ जना बढी हो । आर्थिक वर्ष २०७८÷०७९ मा रामेछापबाट ५ हजार ५ सय ४० जना नागरिक रोजगारीका लागि विदेश गएका थिए । उहाँले भन्नुभयो ‘‘रामेछापबाट वैदेशिक रोजगारीका लागि विदेश जानेको सङ्ख्या दैनिक बढिरहेको छ । चालु आर्थिक वर्षको कार्तिक महिनासम्म मात्रै २ हजार २२४ जना नेपाल सरकारबाट श्रम स्वीकृति लिएर रोजगारी गर्न बिदेसिएका छन् ।’’सुरक्षित आप्रवासन आयोजनाको सक्रियताले पछिल्लो समय श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गुणात्मक रूपमा बढेको उहाँले बताउनुभयो ।
मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सुरक्षित आप्रवासन आयोजनाको भूमिका राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘सुरक्षित आप्रवासन आयोजनाको सक्रियताले वैदेशिक रोजगारीमा जानेलाई केही सुरक्षित बनाएको छ । यसले सञ्चालन गर्ने वैदेशिक रोजगारी सम्बन्धी परामर्श सेवा र सचेतनामूलक कक्षाहरू थप प्रभावकारी बनेको छ । यो कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा मन्थली नगरपालिका गम्भीर बनेको छ ।’’
