सिन्धुली र मधेस प्रदेशको सर्लाही जोड्ने सडक शिलान्यास

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २४ २०८०
  • तामाकोशी

सिन्धुली । बागमती प्रदेशको सिन्धुली र मधेस प्रदेशको सर्लाही जोड्ने हाकपारी – बखफर – कर्मैया सडकको शिलान्यास गरिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.२ को हाकपारी, बखफर हुँदै सर्लाहीको कर्मैया सम्म पुग्ने सडकको प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले शिलान्यास गर्नुभएको हो । बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको कुल ११ दशमलव ८३५ किलोमिटर लामो सडक निर्माणको लागि कुल २६ करोड ३ लाख ३१ हजार रुपैयाँमा लामा कन्ट्रक्सनले ठेक्का पाएको छ । बाटो स्तर उन्नति, ढल, ग्याविन र कालोपत्रे सडक निर्माण गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायण यादवले बताउनुभयो । २४ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी गएको जेठ २२ गते निर्माण कम्पनीले सम्झौता गरेको छ । सडक शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले आवश्यक सबै सहयोग उपलब्ध गराउने भन्दै समयमै सडक निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।