रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले चिसापानीलाई विभिन्न उत्पादनहरूमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताउनुभएको छ । तामाकोसी अनलाइन सँग वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘‘मन्थली नगरपालिका वडा नं ८ चिसापानीलाई कृषि र पशु पालनबाट हुने उत्पादनमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको । अबको केही वर्ष भित्रै खाद्यान्न, गोलभेँडा, दूध र मासुमा वडा आत्मनिर्भर बनाउने उद्देश्य छ ।’’
‘चिसापानीमा कृषि उत्पादन राम्रो हुने भए पनि बाँदरका कारण मान्छेले खेतीपाती गर्न छाडेकाले खेतबारीहरू खण्डहर बन्दै गएको छ, अब बाँदर नियन्त्रणका लागि विशेष योजना तथा कार्यक्रम आवश्यक बनाउने योजना छ’, उहाँले भन्नुभयो । चिसापानीमा गोलभेँडा एकदमै राम्रो उत्पादन हुने भएकाले किसानहरूलाई बढी भन्दा बढी गोलभेँडा उत्पादनमा लगाउन गोलभेँडा किसानका लागि विभिन्न कार्यक्रमहरू बनाइएको उहाँले बताउनुभयो । चिसापानीलाई दूधमा तथा दूध जन्य उत्पादनहरूमा आत्मनिर्भर बनाउनका लागि भैँसी संरक्षण कार्यक्रम अन्तरगत वडा जवानी बसेर किसानलाई भैँसी किन्न सहुलियत ऋणको व्यवस्था गरिदिने उहाँले बताउनुभयो ।
वडाले अहिले नागरिकको चाहाना र जनप्रतिनिधिहरूको क्षमता अनि सोचलाई तालमेल मिलाएर शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, पर्यटन लगायतका क्षेत्रको विकासका लागि काम गरिरहेको उहाँले बताउनुभयो । ‘यो वडाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भए पूर्वाधार विकास, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’, उहाँले भन्नुभयो । बिरुवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने जिम्मेवारी सहित समुदायमा आधारित हरित सडक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको रक यो कार्यक्रमका लागि वडाले समुदायलाई आवश्यक बिरुवा प्रदान गर्ने उहाँले बताउनुभयो ।
वडालाई दूध, मासु र गोलभेँडामा आत्मनिर्भर बनाउने गरी काम भइरहेको छ : वडा अध्यक्ष गोपाल श्रेष्ठ
- प्रकाशित मिति: बिहिबार, कार्तिक २३ २०८०
- तामाकोशी