रामेछाप । रामेछाप जिल्ला स्तरीय सबै सहकारीहरूको छाता सङ्गठन रामेछाप जिल्ला सहकारी सङ्घ लिमिटेडले जिल्लाका सबै पालिकाहरूमा आफ्नो सञ्जाल विस्तार गर्ने भएको छ । जिल्ला सहकारी सङ्घको शनिवार मन्थलीमा सम्पन्न भएको छैटौँ वार्षिक साधारण सभामा सङ्घका सचिव नवीन के.सीले प्रस्तुत गर्नुभएको सङ्घको आगामी वर्षको कार्यक्रममा यो कुरा समावेश छ ।
सङ्घको सदस्यहरूको तथा सङ्घको सेवामा पहुँच वृद्धि गरी दिगो सम्बन्ध कायम गर्ने कार्यक्रम अन्तरगत सञ्जाल विस्तार गर्ने योजना सहित विभिन्न नौ बुँदे आगामी योजनाहरू सचिव के.सीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख रहेको छ । जिल्लाको प्रत्येक पालिकामा सञ्जाल विस्तार गरी सङ्घको सञ्चालकको संयोजकत्वमा नेतृत्व तय गर्ने सङ्घको तयारी छ ।
अहिले जिल्लामा सञ्चालित १९९ वटा सहकारीहरू सङ्घको शेयर सदस्य रहेकाले आगामी वर्ष थप २५ वटा सकारीलाई शेयर सदस्य बनाएर २२४ शेयर सदस्य पु¥याउने लक्ष्य लिएको सङ्घका सचिव के.सीले बताउनुभयो । रामेछाप जिल्ला सहकारी सङ्घले गत आर्थिक वर्ष २०७९÷०८० मा २ लाख ५६ हजार ७२५ रुपैयाँ आम्दानी र २ लाख ४६ हजार ६७९ रुपैयाँ खर्च गरेको कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । हालसम्म २ लाख २८ हजार शेयर पुँजी रहेको जिल्ला सहकारी सङ्घलाई सहकारी वोर्डबाट पाँच लाख रुपैयाँ अनुदान रकम प्राप्त भएको कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षता र प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्ययतामा सङ्घको साधारण सभा सम्पन्न भएको हो । रामेछाप जिल्ला स्तरीय सबै सहकारीहरूको छाता सङ्गठन रामेछाप जिल्ला सहकारी सङ्घ २०७१ साल वैशाख १५ गते तत्कालीन डिभिजन सहकारी कार्यालय दोलखामा दर्ता भएर सञ्चालनमा आएको हो ।