रामेछाप । रामेछापको ऐतिहासिक धार्मिक शक्ति पीठ खाँडादेवी मन्दिरको विकासको लागि गठन भएको खाँडादेवी विकास कोषले हरेक वर्ष बडा दशैँ पछि आयोजना गर्ने वार्षिक कार्यक्रम सोमबार सम्पन्न गरेको छ । खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीले विकास कोषमा भएको आम्दानी र खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।
२०७० सालमा स्थापना भएका विकास कोषको हालसम्मको आम्दानी १ करोड ११ लाख १५ हजार रुपैँया र खर्च १ करोड २३ लाख ९४ हजार रुपैँया भएको बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै मन्दिरमा चढाइएको विभिन्न सुन चाँदीका गहना अभिलेख राखी मन्दिरको लकरमा हालिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले खाँडादेवी मन्दिरको सुरक्षाको लागि प्रहरी चौकी स्थापना तथा मन्दिरसम्म ल्याउने सडक पिच गर्नका लागि संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तामाङले खाँडादेवीलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । आफू गाउँपालिका अध्यक्ष हुँदा खाँडादेवीको विकासका लागि १० करोड ६५ लाख रुपैँयाको गुरुयोजना बनेको बताउँदै सोही अनुसार करिब ३ करोडको लागतमा पुरातत्त्व विभागको लगानीमा मन्दिर बनेको र बाँकी काम पनि गुरु योजना अनुसार नै हुनु पर्ने बताउनुभयो । खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले खाँडादेवी क्षेत्रको विकासका लागि स्थानीय सरकारले गर्नुपर्ने सबै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय सरकारसँग ठुला काम गर्न बजेट नहुने भन्दै उहाँले त्यसको लागि प्रदेश र केन्द्र सरकारलाई सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, २ का केशव प्रधान, ३ का पुष्करकुमार कार्की, ४ का कृष्णप्रसाद पौडेल, ५ का मनोज पौडेल, ६ का नारायण कार्की, ७ का सिरेलाल तामाङ, आजीवन सदस्य पुष्कर कार्की लगायतले मन्दिरसम्म पुग्ने सडक पिच गर्न र गुरु योजना अनुसार खाँडादेवीको विकासका काम अघि बढाउन माग गर्नुभएको थियो । खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले तीतेपातीको घारीले ढाकेको खाँडादेवी परिसरलाई अहिलेको अवस्थामा ल्याएको बताउँदै पूर्वाधार विकासको अझै धेरै काम बाँकी रहेका बताउनुभयो । यसको लागि सबै निकायलाई आवश्यक सहयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो । सोही कार्यक्रममा कोषको तर्फबाट क्यान्सर पीडित विपन्न महिला शोभा तामाङलाई उपचारको लागि ५० हजार रुपैँया आर्थिक सहयोग गरिएको थियो । त्यस्तै खाँडादेवी मन्दिरको भेटी चोरी गरी भाग्नेलाई पक्राउ गर्ने प्रहरीहरूलाई समेत कोषको तर्फबाट पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।