दसैँको बेला रामेछापमा ६५० सवारी कारबाहीमा, ६ लाख ५० हजार राजश्व सङ्कलन

  • प्रकाशित मिति: शनिबार, कार्तिक ११ २०८०
  • तामाकोशी

रामेछाप । दसैँका बेलामा रामेछापमा ६ सय ५० सवारी साधन कारबाहीमा परेका छन् । कार्तिक १ गतेदेखि ११ गतेसम्म ट्राफिक नियम विपरीत सञ्चालन भएका साना तथा ठुला गरी ६५० वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।
उहाँका अनुसार दसैँका बेलामा कारबाहीमा परेका सवारी साधनबाट ६ लाख ५० हजार रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन भएको छ । यो सहित चालु आर्थिक वर्षको हालसम्म रामेछापमा ट्राफिक नियम विपरीत सञ्चालन भएका दुई हजार ३३५ वटा सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिना देखि कार्तिक ११ गतेसम्म कारबाहीमा परेका दुई हजार ३३५ वटा सवारीबाट २२ लाख ३७ हजार रुपैयाँ बढी राजश्व सङ्कलन भएको ट्राफिक प्रमुख चौलागाईँले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ट्राफिक नियम विपरीत सञ्चालन भएका ३८५ सवारी साधन कारबाहीबाट तीन लाख ७१ हजार ५००, भदौ महिनामा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यसै गरी असोज महिनामा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । रामेछापमा दसैँको बेलामा मापसे चेकजाँच, क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी माथिको विशेष निगरानी लगायत ट्राफिक व्यवस्थापनमा कडाइ गरिएकाले अप्रिय सडक दुर्घटनाका घटना नभएको ट्राफिक प्रहरी प्रमुख चौलागाईँको भनाइ छ ।
जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई सडक दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि उहाँले बताउनुभयो । ‘सवारीलाई कारबाही गर्ने र राजश्व सङ्कलन गर्ने कुरालाई मात्रै नभै ट्राफिक प्रहरीले समुदायमा ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउनु पर्छ भन्ने कुरालाई पनि प्राथमिकता दिएको छ, यही कुरालाई ध्यानमा राखेर यो वर्ष एक महिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ’, उहाँले भन्नुभयो ।