रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीले दसैँ तिहार जस्ता चाड पर्वमा हुन सक्ने घटनाहरूलाई मध्यनजर गरेर रामेछापको सुरक्षा व्यवस्था कडा बनाइएको बताउनुभएको छ । तामाकोसी अनलाइनसँग कुरा गर्दै प्रहरी प्रमुख पराजुलीले दसैँ तिहार जस्ता ठुला चाड पर्वमा यो वर्ष आपराधिक घटनाहरू हुनै नदिने गरी सुरक्षा योजना बनाइएको बताउनुभयो ।
यो दसैँ तिहार जस्ता चाड पर्वमा हुन सक्ने घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरीले नियमित गस्ती सहित क्वीक रेस्पोन्स टोली, मापसे चेकजाँचमा थप कडाइ, मोबाइल गस्ती सहित सूक्ष्म निगरानीका लागि पैदल गस्तीमा प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँले चाड पर्वमा रमाइलका नाममा सामाजिक तथा सांस्कृतिक आचरण र मान मर्यादा विपरीतका गतिविधि सञ्चालन नगर्न नगराउन आग्रह गर्नुभयो । दसैँ तिहार जस्ता चाड पर्वका अवसरमा विभिन्न सङ्घ सङ्गठन तथा क्लबहरूले गाउँ गाउँमा विभिन्न कार्यक्रम गर्ने भएकाले यस्ता सबै कार्यक्रमका बारेमा प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । चाड पर्वका नाममा कसैले कानुन विपरीतका कार्य गरेमा त्यसलाई कानुनको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय रामेछापले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
नेपाल प्रहरी सधैँ नागरिकको सुरक्षामा रहेको भन्दै उहाँले सचेत र सुरक्षित रहेर दसैँ तिहार जस्ता पर्व हर्ष उल्लासका साथ मनाउन रामेछाप बासीलाई आग्रह गर्नुभयो ।
रामेछापमा दसैँ तिहार सुरक्षा योजना : सूक्ष्म निगरानी पैदल गस्तीदेखि क्वीक रेस्पोन्स टिमसम्म
- प्रकाशित मिति: आइतबार, असोज २८ २०८०
- तामाकोशी