मन्थली नगरपालिकाले सहकारी क्षेत्रको विकासमा काम गरिरहेको छ : नगरप्रमुख श्रेष्ठ

  • प्रकाशित मिति: शनिबार, असोज २७ २०८०
  • तामाकोशी
रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नगरपालिकाले आफूसँग भएको स्रोत साधनको समुचित प्रयोग गरेर सहकारी क्षेत्रको विकासमा काम गरिरहेको बताउनुभएको छ । शनिवार मन्थलीमा सम्पन्न मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सहकारी क्षेत्रको विकासका लागि बनेका विभिन्न निकायले सहकारी क्षेत्रको विकासका लागि स्थानीय सरकारले केही गरेन भनेर गुनासो मात्रै गर्ने गरेको भन्दै नगर प्रमुख श्रेष्ठ गुनासो मात्रै नगरी प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी पनि पुरा गर्न यस्ता निकायलाई  आग्रह गर्नुभयो । नेपालमा सहकारीको अवधारणा सुरु भएको ६८ वर्षको अवधिमा धेरै सहकारीहरू खुल्दा सहकारीका क्षेत्रमा समस्याहरू पनि देखा पर्न थालेको उहाँका भनाइ छ । सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्याहरूको समाधानका लागि सहकारी क्षेत्रको विकासका लागि बनेका विभिन्न छाता सङ्घ सङ्गठनहरूको भूमिका प्रभावकारी नदेखिएको उहाँको गुनासो छ । सहकारी क्षेत्रको विकासका लागि स्थानीय सरकारकालाई मात्रै यो गरेन, त्यो गरेन भने दोष दिनु भन्दा यस क्षेत्रको विकास र देखा पर्ने समस्याहरूका लागि बनेका नियमनकारी निकायहरूले जिम्मेवार ढङ्गले काम गर्नुपर्नेमा उहाँको जोड छ । नेपालमा सहकारीको अवधारण आएको ६८ वर्षको अन्तरालमा जनतालाई सक्षम बनाउने अभियान सहकारीले सञ्चालन गरेको पनि उहाँले बताउनुभयो । सहकारीले सामान्य नागरिकलाई पनि दुःख गरेर कमाएको रकम थोरै भए पनि बचत गर्न सिकाएको उहाँको भनाइ छ ।