मन्थली बचतले एक वर्षमा ५८ लाख बढी खुद नाफा कमायो

  • प्रकाशित मिति: शनिबार, असोज २७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गएको वर्ष ५८ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । यो सहकारीले गत आर्थिक वर्ष २०७९÷०८० मा ५८ लाख ८ हजार रुपैयाँ बढी खुद नाफा कमाएको हो । सहकारीको शनिवार मन्थलीमा सम्पन्न २६ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले संस्थाले गत वर्ष ५८ लाख ८ हजार ८२५ रुपैयाँ खुद नाफा कमाएको जानकारी दिनुभयो ।

कोषाध्यक्ष भट्टले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार सो संस्थाको शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै बचत सङ्कलन ९१ करोड ७३ लाख ३९ हजार १४७ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७९÷०८० मा संस्थाले ७१ करोड ३५ लाख ६३ हजार ४३९ रुपैयाँ ऋण लगानी गरेको छ ।
कार्यक्रममा सहकारीका सचिव हिमाल ढुङ्गेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ मा हाल रहेको १५ हजार ८२९ जना शेयर सदस्यबाट पाँच हजार थप गरी २० हजार ८२९ जना शेयर सदस्य पु¥याउने संस्थाले लक्ष्य लिएको उल्लेख गरिएको छ । सचिव ढुङ्गेलले सदस्य जीवन सुरक्षा कोष अन्तरगत मृतक सदस्यका परिवारलाई राहत स्वरूप २० हजार रुपैयाँ उपलब्ध गराउने, दुर्घटना बिमा अन्तरगत मृतक सदस्यका परिवारलाई संस्थाले बिमा बापतको एक लाख रकम दिँदै आएकोमा त्यसलाई निरन्तरता दिने, संस्थाको कार्यक्षेत्रमा मूलतः सदस्य केन्द्रित विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने तथा कार्यक्षेत्र अन्तरगत पालिकाहरूमा निःशुल्क जनरल स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने लक्ष्य सहितको ३० बुँद्दे आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले संस्थालाई वित्तीय रूपमा अझै सक्षम, दिगो, भरपर्दो विश्वासिलो, गुणस्तरीय तथा सुरक्षित सहकारी संस्थाका रूपमा विकास गरी सदस्यहरूको आर्थिक, सामाजिक, तथा सांस्कृतिक रूपमा विकास गर्ने प्रमुख लक्ष्य लिएको बताउनुभयो । संस्थालाई एसियाली स्तरको गुणस्तरीय सहकारी संस्थाका रूपमा स्थापित गर्न नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सङ्घमा आबद्ध भई एक्सेस ब्रान्ड कार्यक्रममा सहभागी भई निरन्तर काम गरिरहेको भए पनि भाखा नाघेको ऋण पूर्ण रुपमा असुली हुन नसकेका कारणलेको यो ब्रान्ड प्राप्त गर्न ढिलाइ भइरहेको बताउनुभयो । एक्सेस ब्रान्ड हासिल गर्नका लागि अन्य सूचकहरूमा भने संस्थाले उल्लेख्य प्रगति गरिरहेको उहाँको भनाइ छ । सहकारीका अध्यक्ष घिमिरेको अध्यक्षता, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीको प्रमुख आतिथ्यता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको विशिष्ट आतिथ्ययतामा संस्थाको २६ औँ वार्षिक साधारण सभा भएको हो । यो सहकारी २०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौँमा दर्ता भएर सञ्चालन आएको थियो ।