रामेछाप । रामेछापको मन्थली नगरपालिकाले किसानलाई प्रोत्साहन दिन वास्तविक किसानको पहिचान गर्ने काम गरिरहेको छ । कृषि र पशु पालनको क्षेत्रमा प्रदान गरिने अनुदान तथा प्रोत्साहन कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले वास्तविक किसान पहिचान गर्न लागेको हो ।
वास्तविक किसानको पहिचान नहुँदा अनुदानलगायतका कार्यक्रमको सेवा सुविधा टाँठा–बाँठाले मात्रै लिएको भन्ने गुनासो बढेपछि नगरपालिकाले वास्तविक किसान पहिचानको काम गरेको मन्थली नगरपालिका कृषि विकास उपशाखाकी कृषि अधिकृत प्रतिभा घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘ नगरले कृषि र पशु पालनका क्षेत्रमा प्रदान गर्ने अनुदान लगायतका कुराहरूबाट वास्तविक किसानहरू मर्कामा नपरोस् । अनुदान लगायत किसान प्रोत्साहन कार्यक्रमले वास्तविक किसानलाई फाइदा होस् भनेर वास्तविक किसान सूचीकरण गर्ने काम थालेका हौँ ।’’ नगरपालिकाको १४ वटै वडामा कृषि तथा पशु प्राविधिकले वास्तविक किसानहरूको तथ्याङ्क सङ्कलन गरिरहेकाले यही असोजसम्म नगरपालिकामा कति वास्तविक किसान छन् भन्ने कुरा पक्का लाग्ने उहाँको भनाइ छ ।
कृषि क्षेत्रको विकासका लागि किसानलाई प्रोत्साहन दिन नगरपालिकामा के कति मात्रामा वास्तविक किसान छन् उनीहरूको पहिचान गर्न आवश्यक रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । ‘किसानलाई प्रोत्साहन कार्यक्रम बनाउन पहिला वास्तविक किसानको पहिचान हुनुपर्छ, अहिले मन्थली नगरपालिकाको सबै वडामा रहेका वास्तविक किसान पहिचान गर्ने काम अन्तिम चरणमा पुगेको , अव आवश्यकताको पनि पहिचान गरी वास्तविक किसान प्रोत्साहन कार्यक्रम चाडै बन्छ’, उहाँले भन्नुभयो ।
आफूहरू निर्वाचित भए पश्चात् पहिलो कार्यपालिकाको बैठकमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ भनेर निर्णय गरिएको र सोही अनुसार काम भइरहेको उहाँको भनाइ छ । मन्थली नगरपालिका पशु र दूधमा आत्मनिर्भर बनाइ आय आर्जनमा दिगो अर्थतन्त्र हासिल गराउने दिशामा अगाडी बढेको उहाँको दाबी छ । ‘यस अन्तरगत भेटेरिनरी अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था, दूध उत्पादन गर्ने किसानलाई अनुदान, पशु रोग नियन्त्रण, डाले घाँस कार्यक्रम, पशु र कृषि प्रोफाइल तयारी, कृषि यन्त्रमा अनुदान लगायतका विभिन्न कार्यक्रमहरू विगत देखिनै सञ्चालनमा छन्’, उहाँले भन्नुभयो । कृषि क्षेत्रको विकासका गर्न नगरपालिकाले भू उपयोग नीति पनि जारी खेतीयोग्य जमिनको उचित संरक्षण गरी कृषकको आर्थिक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने तर्फ नगरपालिका केन्द्रित रहेको उहाँले बताउनुभयो ।
मन्थली नगरपालिकामा वास्तविक किसानको पहिचान गर्ने काम अन्तिम चरणमा
- प्रकाशित मिति: मंगलबार, असोज २३ २०८०
- तामाकोशी