रामेछाप । रामेछापमा रहेको सीमान्तकृत माझी समुदायको एक वर्ष भरी दिवङ्गत भएका पितृहरूलाई सम्झने मौलिक कर्म श्राद्ध गर्छन् । यो समुदायले हरेक वर्ष पितृ श्राद्ध तीन दिनसम्म भक्ति भावपूर्वक गर्ने गर्दछन् । यो वर्ष बुधवारबाट सुरु भएको श्राद्ध शुक्रवार बिहान तामाकोशीमा पित्र सेलाएपछि समापन भएको छ । माझी समुदायले श्राद्धको पहिलो दिनलाई थाल्ने, दोस्रो दिनलाई पाल्ने र तेस्रो दिन बिदा गर्ने भनिन्छ ।
बुधवार कुनै कारणले रोकियो भने शुक्रवार सुरु गरेर आइतबार समापन हुने मन्थली नागरपालिका–८ जखनीटारका गणेश माझी बताउनुहुन्छ । ‘कुनै व्यक्तिको सोह्र श्राद्धको श्राद्ध सुरु नभई मृत्यु भएमा त्यही श्राद्धभित्रै उसको पनि श्राद्ध सकिन्छ, एउटा श्राद्ध सकिए पछि एक वर्ष भरी मृत्यु भएका सबै पितृको श्राद्ध गर्न सोह्र श्राद्धकै बुधवार वा शुक्रवार पर्खनु पर्दछ’, उहाँले भन्नुभयो । आफन्तको मृत्यु भएका परिवारका सदस्यले कुशे औँसीदेखि देखि श्राद्ध गर्न चोखो खाएर बस्नु पर्ने उहाँको भनाइ छ ।
सोह्र श्राद्धको पूर्णिमाको दिनबाट श्राद्धको प्रारम्भ हुन्छ । सो दिनबाट एक वर्षसम्म रोकिएको बाजागाजा फुकाइन्छ । पितृलाई प्रसाद चढाइन्छ । प्रसाद चढाउन आफन्त र दाजुभाइहरू आउँछन् । उहाँहरू सबैलाई प्रसाद खुवाएर बिदा गरिन्छ । त्यस पछि बुधवारबाट मुख्य कर्म सुरु हुन्छ । बुधवार बिहानैदेखि पितृको फोटो राखेर प्रसाद चढाइन्छ । प्रसाद चढाउन गाउँका सबै दाजुभाइ तथा चेलीबेटीहरू आउँछन् । प्रसाद चढाएपछि गाउँका बुढापाकाहरू जम्मा भएर मादल बजाउँदै गीत गाएर पितृलाई सम्झन्छन् ।
गाउँभरिका मानिसले ल्याएको प्रसाद र सगुन बाँडिन्छ । भोज लगाएर सबै पाहुनालाई खाना खुवाइ बिदा गरिन्छ । दोस्रो दिन बिहीबार बिहानै बाटो खन्ने काम हुन्छ । पितृलाई स्वर्गको यात्रा सहज होस् भनी बाटो खनिने प्रचलन छ । त्यस पछि खुल्ला ठाउँमा पितृको सम्झनामा पितरा बनाएर नाचगान गरिन्छ । पितृलाई प्रसाद र बरनी गरिन्छ । यो कर्ममा छोरी चेलीको विशेष भूमिका हुन्छ । सो दिन दिनभरि नाचगान गरी भोज लगाइन्छ । भोलिपल्ट बिहानै नदीमा गएर पितरा बगाएर पितृलाई बिदा गरेपछि श्राद्ध सकिने जखनिटारकै वीरबहादुर माझी बताउनुहुन्छ । सोही विधि अनुसार शुक्रवार बिहान भालेको डाकोमा नदीमा लगेर पितृ सेलाउने कर्म सकिएको उहाँले बताउनुभयो ।
शुद्ध शान्तिको भोज र श्राद्धको भोजमा पहिला पहिला राँगा वा भैँसीको मासु खुवाउने गरिएको भए पनि अहिले मासुको चलन हटाइएको छ । शोकमा परेकालाई खर्चको मार नपरोस् भनेर मन्थली नगरपालिका–८ जखनीटारका माझी समुदायले मासुको भोज हटाएका हुन् । परम्परादेखि मौखिक रूपमा चल्दै आएको माझी समुदायको यो संस्कार पुराना पुस्ताको मुखबाट नयाँ पुस्तामा सर्दै आएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । ‘माझी समुदायको श्राद्धको सबै कर्म गीतकै विधिबाट हुन्छ, मौखिक रूपमा सर्दै आएको यो परम्परा धार्मिक तथा सांस्कृतिक आक्रमणसँगै जोगाउन कठिन हुँदै गएको छ’, उहाँले भन्नुभयो । सीमान्तकृत माझी समुदायको संस्कार जोगाउनका लागि मन्थली नगरपालिका सहित वडा पनि गम्भीरेको उहाँको भनाइ छ ।
