एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चद्वारा युवाहरुका लागि कफी मेकर (बारिस्टा) तालिम

  • प्रकाशित मिति: बुधबार, असोज १७ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले १० दिने कफी मेकर (बारिस्टा) तालिम सुरु गरेको छ । सम्पर्क मञ्चले मङ्गलवारबाट हेवन फुड तीनकुनेमा तालिमको सुरुवात गरेको हो । रामेछाप जिल्लाका विभिन्न पालिकाका २५ जना युवाको सहभागिता रहेको १० दिने सो तालिमको नेकपा एमाले सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितले उद्घाटन गर्नुभएको छ । नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईं, एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटी तथा सम्पर्क मञ्चका नेताहरू समेतको सहभागिता रहेको थियो । तालिमका सहभागीलाई निर्मल भण्डारी र शङ्कर खड्काले प्रशिक्षण दिने सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो । राजनीति भनेको भाषणदेखि भाषणसम्म र चुनावदेखि चुनावसम्म नरहेको भन्दै युवालाई उत्पादनशील र उद्यमशील बनाउन तालिम आयोजना गरिएको श्रेष्ठले बताउनुभयो । यस्ता सिपमूलक तालिमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।