रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयले १८ महिने प्री–डिप्लोमा कार्यक्रम सरकारले नै बन्द गरेको जनाएको छ । केही मिडियामा मन्थली माविमा विद्यार्थी नहुँदा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तरगतको प्राविधिक विषय अध्यापन गराउने कक्षा नै बन्द भन्ने समाचार प्रकाशन तथा प्रसारण भएको थियो ।
मङ्गलवार मन्थली माविका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहालले एक जानकारी पत्र सार्वजनिक गर्दै मन्थली माविमा तीन वर्षे सिभिल डिप्लोमा कार्यक्रम सञ्चालन भइरहेको र १८ महिने प्री–डिप्लोमा कार्यक्रम सरकारले नै बन्द गरेको जनाउनु भएको हो । माध्यमिक शिक्षा परीक्षा एसइईमा एक दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले सोझै डिप्लोमा पढ्न पाउने निर्णय सरकारले गरेकोले १८ महिने प्री–डिप्लोमा कार्यक्रम बन्द भएको जानकारी पत्रमा भनिएको छ । जानकारी पत्रमा एसइईमा एक दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले सोझै तीन वर्षे डिप्लोमा कार्यक्रम तथा कक्षा ११ मा विज्ञान, व्यवस्थापन तथा अन्य विषयहरू अध्ययन गर्न पाउने सरकारले निर्णय गरे अनुसार विद्यार्थीहरू उक्त कार्यक्रममा भर्ना हुन जाने भएकाले प्री–डिप्लोमा कार्यmत्रममा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना नभएको जानकारी गराइन्छ भनिएको छ ।
