प्रदेश सरकारको लापरबाहीले चिस्यान केन्द्र प्रयोग विहीन

  • प्रकाशित मिति: शुक्रबार, असोज १२ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र प्रयोग विहीन बनेको छ । वाग्मती प्रदेश सरकारको ७० र मन्थली नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा बनेको चिस्यान केन्द्र नगरपालिकालाई हस्तान्तरण हुन नसक्दा प्रयोग विहीन बनेको हो ।

लामो समयदेखि अलपत्र बनेको तरकारी तथा फलफूल चिस्यान केन्द्र बल्ल निर्माण सम्पन्न भए पनि अहिलेसम्म प्रयोगमा आउन नसकेको स्थानीयले बताएका छन् । ठुलो लगानीमा चिस्यान केन्द्र बनेर पनि प्रयोगमा आउन नसक्दा जिल्लाको विभिन्न स्थानमा उत्पादन हुने जुनार लगायतका अमिलो जातका फलफूल, किवी, आलु, विभिन्न जातका तरकारी उत्पादन गर्ने किसानहरू समस्यामा रहको स्थानीयको भनाइ छ ।
वाग्मती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दश लाख रुपैयाँको साझेदारीमा इजि इन्फा प्रालि काठमाडौँले चिस्यान केन्द्र निर्माण गरेको हो । यो चिस्यान केन्द्रको ५० केजीका दश हजार बोरा फलफूल तथा तरकारी जन्य उपजहरू चिस्यान गर्न सक्ने क्षमता छ । निर्माण सम्पन्न भएर सफल परीक्षण समेत भइसकेको चिस्यान केन्द्रमा व्यवस्थित घेरा बार, यसको रेखदेख र व्यवस्थापन गर्ने कर्मचारी बस्ने घर, शौचालय भने छैनन् । निर्माण सम्पन्न भएर आधिकारिक रूपमा प्रदेश सरकारले हस्तान्तरण गर्न नसकेकै कारण चिस्यान केन्द्र प्रयोग विहीन भएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले बताउनुभयो । ‘नगरपालिकाले सञ्चालनको प्रक्रिया अगाडी बढाउन पहिला प्रदेशले स्थानीय सरकारलाई आधिकारिक रूपमा हस्तान्तरण गर्नु पर्ने हो, तर पटक पटक आग्रह गर्दा पनि प्रदेश सरकारले चिस्यान केन्द्र हस्तान्तरण र सञ्चालनको विषयमा चासो देखाएन’, उहाँले भन्नुभयो । परीक्षण समेत भइसकेको चिस्यान केन्द्रमा व्यवस्थित घेरा बार, यसको रेखदेख र व्यवस्थापन गर्ने कर्मचारी, बस्ने घर, शौचालय तत्कालै आवश्यक रहेको उहाँले बताउनुभयो । यी संरचनाहरूको निर्माणमा पनि प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत दायित्व भए पनि प्रदेशले सक्दिन भनेर हस्तान्तरण गरे नगरपालिकाले बाँकी काम सकेर सञ्चालन गर्ने उहाँले बताउनुभयो । मन्थली नगरपालिकाको ३० प्रतिशत आफ्नो पनि प्रदेश सरकारको कृषि मन्त्रालयलाई उपलब्ध गराएपछि चिस्यान केन्द्र निर्माणका लागि टेन्डर आह्वानदेखि निर्माण सम्म वाग्मती प्रदेश सरकारले नै गरेको थियो । यस बाहेक मन्थली नगरपालिकाले आफ्नो लगानीमा चिस्यान केन्द्रसम्म आवश्यक विद्युत् पु¥याइ टिओडी मिटर जडान गरेको छ ।