रामेछापको फुलासी स्थित नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

  • प्रकाशित मिति: बुधबार, असोज १० २०८०
  • तामाकोशी

रामेछाप । नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ फुलासी साँखे स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०÷१३२ केभी सबस्टेसनमा जम्मा एक सय एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा दुई सय एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ ।

थप गरिएको ट्रान्सफर्मरलाई मंगलवार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००÷१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भइ ३ सय एमभीए पुगेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गज्रयाङ)–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो । तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो । यसले गर्दा मुख्य रुपमा लिखू नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् पूर्ण रुपमा प्रवाह हुन सकिरहेको थिएन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरुले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताउनुभयो । नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखू करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो ।तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई नयाँ खिम्ती सबस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीय रुपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताउनुभयो । प्रमुख गौतमले सबस्टेसनबाट विद्युत् दिन थालेपछि उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय आपूर्ति पाएको उल्लेख गर्नुभयो । स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत् धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत् सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ । २२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको थियो । आयोजनाले एक सय एमभीएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको १३२÷३३÷११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ । नयाँ खिम्तीमा १३२÷३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६÷७७ मा शुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।