रामेछापमा संविधान दिवस : गत वर्षहरुमा भन्दा यो वर्ष भव्य कार्यक्रम

  • प्रकाशित मिति: बुधबार, असोज ३ २०८०
  • तामाकोशी

रामेछाप । संविधान जारी भएपछिका वर्षहरूमा भन्दा यो वर्ष रामेछापमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले विभिन्न कार्यक्रम गरी भव्यताका साथ ८ औँ संविधान दिवस मनाउने निर्णय गरेको थियो । सोही बैठकको निर्णय अनुसारका कार्यक्रममा यो वर्ष गत वर्षहरूमा भन्दा सरोकारवाला निकाय तथा सर्वसाधारणहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
यो वर्ष भदौ २९ गतेदेखि नै रामेछापमा संविधान दिवस विशेष कार्यक्रमहरू भएका छन् । भदौ २९ र ३० गते जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र सुरक्षा निकायका बिचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।
भदौ २९ गते मन्थली स्थित ॐ शान्तिको भवनमा सफल एवं आनन्दमय जीवनका लागि सकारात्मक विचार कार्यक्रम र असोज २ गते बिहान मन्थलीमा रक्तदान कार्यक्रम भएको थियो । संविधान दिवसलाई भव्यताका साथ मनाउन आयोजना गरिएको सबै कार्यक्रममा सरोकारवाला निकाय तथा सर्वसाधारणले उत्साह जनक सहभागिता जनाएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो ।
संविधान दिवसका दिन बुधवार प्रभात फेरी सहित औपचारिक कार्यक्रम गरिएको छ । संविधान दिवस मुल समारोह समिति रामेछापको आयोजनामा बुधवार बिहान मन्थली माविबाट सुरु भएको प्रभात फेरी मन्थली बजार परिक्रमा गरी बसपार्क ट्राफिक बिट हुँदै तीनलाल स्मृति पार्कमा पुगेर शुभकामना आदान प्रदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा वाग्मती प्रदेश सदस्यहरू तारानारायण श्रेष्ठ, युवराज चौलागाईँ, आनन्द कुमार श्रेष्ठले मुलुक अहिले संविधान कार्यान्वयनमार्फत नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभयो।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको वास्तविक राज्य व्यवस्थामा परिणत गर्नुपर्नेमा उहाँहरूको जोड थियो । संविधान दिवस विशेष कार्यक्रमको सौन्दर्यीकरण तथा राष्ट्रिय झन्डा फहराउने कार्यक्रम अन्तरगत असोज ४ गते बिहीबार बिहान ७ बजे मन्थली बजार, विभिन्न कार्यालय र चोकहरूमा सरसफाइ गर्ने, असोज ४ गतेसम्म धार्मिक, सांस्कृतिक सम्पदाहरूको सरसफाइ गर्ने कार्यक्रम रहेको छ ।