रामेछापको दिमिपोखरीमा अस्पताल बन्दै, दुई दाजुभाइले गरे जग्गा दान

  • प्रकाशित मिति: मंगलबार, असोज २ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा अस्पताल निर्माण हुने भएको छ । सो ठाउँमा स्थानीय डा.दिलबहादुर तामाङले अस्पताल निर्माण गर्ने योजना अघि सार्नुभएको छ । अस्पताल निर्माणका लागि स्थानीयले जग्गा समेत उपलब्ध गराएका छन् । अस्पताल बनाउन स्थानीय मोहन कुमार तामाङ र शम्भु घिसिङ दुई दाजु भाइले दुई रोपनी जग्गा उपलब्ध गराउनु गराउनुभएको छ । गाउँमा अस्पताल नहुँदा आफ्नो आमाले ज्यान गुमाएपछि अन्यको अकालमा ज्यान नजाओस् भनेर तामाङ र घिसिङले जग्गा दान गर्नुभएको हो । तामाङ र घिसिङले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिस्ट्रेसन पास गरेर जग्गा हस्तान्तरण गरेका छन् । दुई दाजुभाइले प्रदान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार झन्डै ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय रामेछापले जनाएको छ । अहिले निर्माण गर्न लागिएको अस्पताल खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको बिच केन्द्रबिन्दुमा पर्ने भएकाले यो क्षेत्रमा अस्पताल अति आवश्यक रहेको स्थानीयहरूले बताएका छन् ।