नवराज वि.क
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. १ स्थित चुचुरेमा रहेको हिमालयन ऊर्जा विकास परियोजनाका साइड म्यानेजर र इन्चार्जले साँढे ४ लाख रुपैयाँ बराबरको कवाडी सामान अवैध रूपमा बिक्री गरेका पाइएको छ ।
हिमालयन ऊर्जा विकास परियोजनाका साइड म्यानेजर विष्णु पाण्डे र सोही परियोजना अन्तर्गत रहेको पावर हाउसका इन्चार्ज प्रवीण ढकालले मिलेमतोमा परियोजनाको ९ हजार के.जि. कवाडी साँढे ४ लाख रुपैयाँमा बिक्री गरेका पाइएको हो ।
यस परियोजनामा १४ लाख ८५ हजार कित्ता पब्लिक सेयर, ९ लाख ९० हजार प्रभावित क्षेत्रको र ७४ लाख २५ हजार कित्ता प्रमोटर शेयर रहेका छ । लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनाका दुई वटा पावर हाउस छन् । अहिले एउटा पावर हाउसबाट १२ मेगावाट र अर्कोबाट ७ मेगावाट गरी कूल १९ मेगावाट ऊर्जा उत्पादन हुँदै आएको छ ।
यसरी पब्लिक शेयर लगानीमा सञ्चालित परियोजनाको सामान परियोजनाका साइड म्यानेजर पाण्डे र पावर हाउस इन्चार्ज ढकालले मिलेमतोमा अवैध रूपमा बिक्री गरेको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेका टिका कार्कीले बताउनुभयो । स्थानीय कार्कीका अनुसार गत भदौ ३० गते म्यानेजर पाण्डे र इन्चार्ज ढकालले मिलेर परियोजनामा रहेका ९ हजार किलोग्राम कवाडी प्रक्रिया पूरा नगरी बिक्री गरेका हुन् ।
सार्वजनिक स्वामित्वमा रहेको परियोजनाको सामान अवैध रूपमा बिक्री गर्ने पाण्डे र ढकालविरुद्ध प्रशासनमा उजुरी दिने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘यस्ता कर्मचारीलाई कारबाही गरिनु पर्छ, हामी अब प्रशासनसम्म जान्छौँ ।’’ उहाँका अनुसार यसअघि पनि कम्पनीले ७ ट्रक कवाडी प्रक्रिया पूरा नगरी आफू खुसी लिलाम गरी बिक्री गरेका थिए ।
स्थानीयका अनुसार परियोजनाको ९ हजार किलोग्राम कवाडी सामान अवैध रूपमा बिक्री गरेर परियोजनाका म्यानेजर र इन्चार्जले भ्रष्टाचार गरेका छन् । प्रति केजी ५० रुपैयाँका दरले ९ हजार के.जी. कवाडी सामान अवैध रूपमा बिक्री गरेको स्थानीयको आरोप छ । सार्वजनिक स्वामित्वमा रहेको साँढे ४ लाख रुपैयाँ बराबरको कवाडी सामान प्रक्रिया नपु¥याई सुटुक्क बिक्री गर्ने यस्ता कर्मचारीलाई कारबाही हुनुपर्ने स्थानीयको भनाइ छ ।
यता, परियोजना पावर हाउसका इन्चार्ज प्रवीण ढकालले भने आफूहरूले हेड अफिससँगको समन्वयमा प्रक्रिया बमोजिम नै परियोजनाको सामान बिक्री गरिएको दाबी गर्नुभयो । परियोजनाको कवाडी सामान बिक्री गरेको स्वीकार गर्नु भएका ढकालले आफूहरूले प्रक्रिया पूरा गरेरै बिक्री गरेको बताउनुभयो । परियोजनाका साइड म्यानेजर विष्णु पाण्डेसँग यस विषयमा थप बुझ्न खोज्दा उहाँको भने फोन उठेन ।
हिमालयन ऊर्जा विकास परियोजनामा साइड म्यानेजर र इन्चार्जको मनोमानी : साँढे ४ लाखको कवाडी सुटुक्क बेचिदिएँ
- प्रकाशित मिति: सोमबार, असोज १ २०८०
- तामाकोशी