रामेछाप । नेपाल शिक्षक महासङ्घ रामेछापले आउँदो असोज ३ गतेदेखि जिल्लाभर शैक्षिक गतिविधि ठप्प पार्ने भएको छ । शनिवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महासङ्घले जिल्लाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरी आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलनका विभिन्न कार्यक्रममा होमिने निर्णय भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा शनिवार बसेको महासङ्घको जिल्ला कार्यसमिति बैठकले केन्द्रीय आह्वान अनुसार संसद्मा दर्ता भएको ‘शिक्षा विधेयक’ ले शिक्षकहरूको विभिन्न विषयमा शैक्षिक क्षेत्रलाई नै धरापमा पर्ने र आगामी दिनमा शिक्षक पेसा प्रति कसैको वितृष्णा जगाउने गरी विधेयक आउन लागेकाले विरोध स्वरूप असोज ३ गते देखि देशभरका विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुने निर्णय गरेको महासङ्घ रामेछापका अध्यक्ष शङ्कर प्रसाद ढुङ्गेलले बताउनुभयो ।
‘महासङ्घले जिल्ला भरका विद्यालय बाध्य भए बन्द गर्ने निर्णय गरेको छ, विद्यालय बन्द गर्ने हाम्रो रहर हैन, बाध्यताले विद्यालय बन्द गर्नै पर्ने स्थिति बनेको छ’, उहाँले भन्नुभयो । संसद्मा दर्ता भएको शिक्षा विधेयकमा भएका कतिपय बुँदाले आगामी दिनमा शिक्षक बन्नु भन्दा विदेश जानु राम्रो हुने जस्ता कुरालाई समेटेर देशको शैक्षिक क्षेत्र धरापमा पार्न लागेको रामेछापका शिक्षकहरूको भनाइ छ। आफूहरूको माग सम्बोधन नभए सम्म विद्यालयमा शैक्षिक गतिविधि ठप्प गर्ने र निजी क्षेत्र, राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, निजी क्षेत्रको शैक्षिक समिति (प्याब्सन) सबैले आफूहरूको आन्दोलनलाई साथ दिन समेत शिक्षक महासङ्घले आग्रह गरेको छ ।
