पटक पटक बोलपत्र आह्वान गर्दा पनि ठेक्का लाग्न सकेन तीनलाल पर्यटकीय पार्क

  • प्रकाशित मिति: बिहिबार, भाद्र २८ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पर्यटकीय पार्क सञ्चालनका लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि ठेक्का लाग्न सकेको छैन । नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्मिएको जिल्ला रामेछापको मन्थली नगरपालिका–१ गढवारिमा उहाँहरूको सम्झनामा तीनलाल पार्क निर्माण गरिएको हो ।

गत असारको अन्तिममा निर्माण सम्पन्न भएको पार्क सञ्चालन र व्यवस्थापनका लागि नगरपालिकाले पटक पटक रकम घटाएर बोलपत्र आह्वान गरिसकेको छ । नगरपालिकाले पछिल्लो पटक भदौ २६ गते तेस्रो पटक पार्क सञ्चालनका लागि ७ दिने बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गरेको छ । नगरपालिकाले नगरको आर्थिक ऐन २०८० को अधीनमा रही आर्थिक वर्ष २०८०÷०८१ देखि २०९०÷०९१ सम्म १० वर्षका लागि पार्क सञ्चालन तथा व्यवस्थापनका लागि भ्याट सहित वार्षिक १५ लाख रुपैयाँ बुझाउने गरी इच्छुक व्यक्ति, संस्था, कम्पनी वा फर्महरूलाई सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ ।

पार्क सञ्चालनका लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि कोही व्यक्ति, संस्था, कम्पनी वा फर्महरू इच्छुक नदेखिएकाले अहिले रकम घटाएर फेरी बोलपत्र आह्वान गरिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । ‘पार्क सञ्चालन तथा व्यवस्थापनका लागि दोस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा समेत कोही प्रक्रियामा आएनन्, अहिले तेस्रो पटक वार्षिक भ्याट सहित १५ लाख रुपैयाँमा ठेक्का लगाउने गरी बोलपत्र आह्वान गरेका छौँ’,उहाँले भन्नुभयो ।
नगर प्रमुख श्रेष्ठका अनुसार पार्क सञ्चालन तथा व्यवस्थापनका लागि पहिलो पटक भ्याट सहित २० लाख, दोस्रो पटक १८ लाख रुपैयाँमा ठेक्का लगाउने गरी बोलपत्र आह्वान गरिएको थियो । उक्त पार्क अहिले मन्थली नगरपालिका आफैले अस्थायी रूपमा सञ्चालन गरिरहेको छ । मन्थली नगरपालिका र सङ्घीय सरकारको ६ करोड ८६ लाख २१ हजार रुपैयाँ संयुक्त लगानीमा पार्क निर्माण गरिएको हो । कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा हल, महिला, पुरुष बच्चा सहितको ७५ देखि १०० जना क्षमताको तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्ष समेत रहेका छन् ।
त्यस्तै चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा सहितको पार्क रहेको छ । नगरपालिकाको राजश्व उपशाखाका अनुसार पार्कमा प्रवेश र पौडी खेल्न नेपाली र विदेशी नागरिकलाई फरक फरक शुल्क निर्धारण गरिएको छ । बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्थापन गरिएको छ । नेपाली नागरिकलाई पार्क प्रवेश शुल्क २५ रुपैयाँ तोकिएको छ । भारतीय नागरिकलाई प्रवेश शुल्क एक सय रुपैयाँ र अन्य मुलुकका लागि दुई सय रुपैयाँ तोकिएको छ । पौडीको लागि बालबालिकालाई ७५ रुपैयाँ र वयस्कका लागि एक सय ५० रुपैयाँ तोकिएको छ । पौडी खेल्न भारतीय बालबालिकाले तीन सय र वयस्कले पाँच सय रुपैयाँ तिर्नु पर्ने छ । भारत बाहेकका मुलुकका बालबालिकाको लागि पाँच सय र वयस्कका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।