रामेछाप । रामेछापमा १६ वर्ष पारी नागरिकता जारी अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार देखी जिल्लाको लिखुतामाकोसी गाउँपालिकाबाट यो अभियान सुरु गरेको हो । जनप्रतिनिधिलाई अपराध नियन्त्रण सम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा जानकारी दिई छलफल गर्न र समाजमा अपराध न्यूनीकरण तथा नागरिकका काम सहज रूपमा सम्पादन गर्ने वातावरण बनाउने उद्देश्यले जिल्ला प्रशासनले यो अभियान सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका आठ वटै स्थानीय तहमा १६ वर्ष पारी नागरिकता जारी अभियान सञ्चालन गर्ने रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘छोरा हुन् वा छोरी १६ वर्ष पूरा हुने बित्तिकै नागरिकता बनाइदिने कुरामा अभिभावक सचेत हुनुपर्छ । अज्ञानताको कारणले कतिपय नागरिकले समयमा नै नागरिकता नलिँदा धेरै दुःख खेप्नु परेको देखेका छौँ । यही कुरालाई ध्यानमा राखेर यो अभियान सबै पालिकामा सञ्चालन हुन्छ।’’
सरकारी डकुमेन्ट बनाउन आवश्यक कागजातको बारेमा जानकारी नहुँदा नागरिकले दुःख पाउने भएकोले त्यसबारेमा जनप्रतिनिधिलाई जानकारी दिन पनि यो अभियान सुरु गरिएको उहाँको भनाइ छ । ‘नागरिकता समयमा नै बनाइदिने हो भने धेरै समस्या समाधान हुन्छ, समयमा नागरिकता नबन्दा महिलाहरूले धेरै दुःख पाएका छन्, समयमा नै नागरिकता बनाइदिने कुरामा जनप्रतिनिधिको ठुलो भूमिका हुन्छ’, उहाँले भन्नुभयो ।
जिल्ला प्रशासनको यो अभियानले सेवा प्रवाहको विषयमा जनप्रतिनिधिलाई धेरै ज्ञान प्राप्त भएको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले बताउनुभयो । ‘नागरिकहरूको मूल डकुमेन्ट नागरिकता भएकाले नागरिकता समयमा नै बनाइदिने हो भने धेरै समस्या समाधान हुन्छ, प्रशासनको यो अभियानले हामीलाई धेरै कुरा सिकाइ भएसँगै गम्भीर पनि बनाएको छ’,उहाँले भन्नुभयो ।
एकले अर्कालाई दोष दिएर समाजलाई उत्तेजित बनाउने काम भइरहेको बताउँदै उहाँले यसलाई नत्यागे समाज परिवर्तन हुन नसक्ने बताउनुभयो । समाजको वस्तुस्थिति एकातिर र समाजको अपेक्षा अर्कोतर्फ भएको कारण पनि समस्या रहेको उहाँको भनाइ छ । यसलाई न्यूनीकरण गर्न सरोकारवाला सबै सहकार्य गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । जिल्लाका राजनीतिक पार्टीहरूले पनि प्रशासनको १६ वर्ष पारी नागरिकता जारी अभियान राम्रो भएको प्रतिक्रिया दिँदै सबै मिलेर यो अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
कानुनी व्यवस्था र आवश्यक कागजात लगायतका कुरामा जानकारी दिने यस्तो अभियानलाई वडा तहसम्म तलसम्मै लैजानु पर्ने नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की बताउनुहुन्छ । राजनीतिक दलका कार्यक्रममा समेत यी विषयवस्तु समेटेर गाउँ गाउँमा लैजानु पर्ने नेकपा एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्की बताउनुहुन्छ । यो अभियानमा अपराध अन्तर्गत लागू औषध, लैङ्गिक हिंसा, साइवर सुरक्षा, बलात्कार र आत्महत्या र त्यसको न्यूनीकरण र रोकथाममा प्रहरी, जनप्रतिनिधि र नागरिक समाजको भूमिकाको बारेमा पनि जिल्ला प्रहरी कार्यालयले छलफल गर्ने गरेको छ ।
रामेछापमा १६ वर्ष पारी नागरिकता जारी अभियान सुरु
- प्रकाशित मिति: आइतबार, भाद्र १७ २०८०
- तामाकोशी