हेटौँडा । लामो समयदेखि स्थगित बागमती प्रदेश सभाको बैठक सोमबार बस्दै छ । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित भएसँगै स्थगित भएको बैठक दुई महिनापछि बस्न लागेको हो । बिजनेस विहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक सोमबार दिउँसो १ः३० बजेका लागि आव्हान गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताउनुभयो। बागमती प्रदेशको चालु आर्थिक वर्षको बजेट गत असार २१ गते पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको थियो । यसैबिच, बागमती प्रदेश सभामा तीन वटा विधेयक दर्ता भएका छन् । प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको हो । लामो समयसम्म बिजनेसविहीन भएको प्रदेश सभामा ऐन संशोधनका लागि र नयाँ विधेयक दर्ता गराएको हो । प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ ।
बागमती प्रदेश सभाको बैठक सोमबार बस्दै
- प्रकाशित मिति: शनिबार, भाद्र १६ २०८०
- तामाकोशी