प्रतिशोधको भावनाले विकास सम्भव छैन : मेयर लव श्रेष्ठ

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले प्रतिशोधको भावनाले विकास सम्भव नरहेको बताउनुभएको छ । शुक्रवार मन्थलीमा नेपाल प्रेस युनियन रामेछापको ८ औँ साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो । समाज विकासको जिम्मेवार निकायमा अहिलेकै अवस्थामा प्रतिशोधको भावना विकसित हुँदै गएमा यो मुलुक दुर्घटनामा जाने उहाँको बुझाई छ । अहिले जनप्रतिनिधि, पत्रकार लगायत सबै जिम्मेवार निकायहरूमा अहमता पनि त्यतिकै मात्रामा बढेका कारण धेरै समस्याहरू भइरहेको उहाँले बताउनभयो । अहिले सबै मान्छेहरू सामूहिक हितका लागि भन्दा पनि व्यक्तिगत हितका लागि केन्द्रित हुँदा धेरै समस्या भएको उहाँको भनाइ छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतको विकास गरी मुलुकमा परिवर्तन ल्याउने कुरामा कसैलाई चासो नभएको उहाँले बताउनुभयो । जिम्मेवारीको हिसाबले आआफ्नो कर्तव्य पुरा गर्दै गएको खण्डमा मुलुक परिवर्तनको सम्भावना रहेको उहाँको भनाइ छ ।