दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाकी एक महिलाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । वैतेश्वर गाउँपालिका–३ खानी गाउँकी ४० वर्षीया कल्पना राउतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । सामान्य ज्वरो आएपछि सोमबार बैतेश्वर अस्पताल पुगेकी उनलाई परीक्षण गर्दा डेंगु पुष्टि भएको थियो । डेंगुको सङ्क्रमण पुष्टिपछि आइसियुमा राख्नुपर्ने भन्दै बैतेश्वर अस्पतालले कल्पनालाई मङ्गलवार काठमाडौँ रिफर गरेको थियो । कल्पनाको काठमाडौँको सिनामगंलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको उनका आफन्त इराज राउतले बताउनुभयो । सामान्य ज्वरो आएर अस्पताल पुगेकी महिलाको बिस्तारै स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि डेंगु पुष्टि भएको केही दिनमै मृत्यु भएको हो । उनका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् ।
दोलखामा डेंगु सङ्क्रमणबाट ४० वर्षीया महिलाको मृत्यु
- प्रकाशित मिति: बिहिबार, भाद्र १४ २०८०
- तामाकोशी