बालमैत्री स्थानीय शासन समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्ने एउटा आधार हो : मेयर लव श्रेष्ठ

  • प्रकाशित मिति: बिहिबार, भाद्र १४ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बालमैत्री स्थानीय शासन समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्ने एउटा आधार भएको बताउनुभएको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले २०८१ जेठ मसान्तसम्म नगरमा बालमैत्री स्थानीय शासन लागु गर्न आवश्यक सूचकहरू प्राप्तिका लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । यस बारेमा तामाकोसी अनलाइनसँग कुरा गर्दै प्रमुख श्रेष्ठले बालमैत्री स्थानीय शासन व्यवस्था लागु गर्नका लागि पूरा गर्नुपर्ने विभिन्न ५१ वटा सूचक प्राप्तिका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली जुन परिकल्पना छ त्यसलाई पुरा गर्ने एउटा आधार बालमैत्री स्थानीय शासन लागु गर्नु हो, त्यसैले यो अभियानमा मन्थली नगरपालिका गम्भीर भएर लागेको छ’, उहाँले भन्नुभयो। बालमैत्री नगरपालिका घोषणा गरेर मात्रै नहुने यसको दिगो कार्यान्वयनका लागि पनि गम्भीर बनेर लाग्नुपर्ने उहाँको भनाइ छ । समृद्ध नगरपालिका बनाउने अभियान अन्तरगत रहेर मन्थली नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । मन्थली नगरपालिका महिला, बालबालिका तथा सामाजिक परिचालन शाखाकी महिला विकाश निरीक्षक एवं बालमैत्री स्थानीय शासन फोकल पर्सन भगवती तामाङका अनुसार बालमैत्री स्थानीय शासन लागु गर्न १४ वटा वडामा दुई सय बाल समूह र १५ वटा बाल समूह सञ्जाल गठन गरिएको छ । अहिलेसम्म बाल समूह र बाल समूह सञ्जालमा एक हजार ८१४ बालक र दुई हजार १५५ बालिका गरी तीन हजार ९४९ जना बालबालिका आबद्ध भएका छन् । नगरमा घरधुरी सर्वेक्षण, शिक्षा, स्वास्थ्य लगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचक प्राप्तिका लागि काम भइरहेको छ ।