रामेछापको बाबिया खर्कमा ३६ लाख लिटर क्षमताको प्लास्टिक पोखरी २६ वर्ष देखि अलपत्र

  • प्रकाशित मिति: बिहिबार, भाद्र ७ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–८ माथिल्लो बाबिया खर्कमा ३६ लाख लिटर भन्दा बढी क्षमताको प्लास्टिक पोखरी २६ वर्षदेखि अलपत्र अवस्थामा छ । २०५४ सालमा निर्माण गरिएको प्लास्टिक पोखरी आकाशे पानी नजमेपछि अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । आकाशबाट परेको पानी नजमेपछि अलपत्र बनेको यो पोखरीको व्यवस्थापन, संरक्षण र विकल्पको खोजीमा स्थानीय सरकार लगायत कुनै पनि निकायको अहिलेसम्म चासो जान सकेको छैन ।
डेनिस दूतावासको सहयोगमा मलाया गिरी विकास केन्द्र मार्फत वि.स २०५४ सालमा ४० लाख रुपैयाँ लागतमा बनेको यो पोखरी अहिलेसम्म प्रयोगमा नआएको स्थानीय बद्रीप्रसाद घिमिरेले बताउनुभयो । ‘पाँच सय रोपनी जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ बाबिया खर्कको टुप्पोमा नेपालकै नयाँ प्रविधिको रूपमा २६ वर्ष अगाडी प्लास्टिक पोखरी बनेको थियो, पोखरी बनेपछि स्थानीय खुसी भएका थिए, तर पोखरीमा पानी नजमेपछि अहिलेसम्म प्रयोगमा आएको छैन’, उहाँले भन्नुभयो । उच्च ठाउँमा पोखरी बनाइएकाले वर्षाको समयमा पनि कतैबाट आएको भल पानी जम्मा गर्ने सम्भावना नरहेको र पोखरी माथि कुनै पनि पानीको मुहान नभएको उहाँले बताउनुभयो । लामो समयदेखि अलपत्र बनेको पोखरीका बारेमा स्थानीय सरकारले पनि चासो नदिएको स्थानीय गुनासो छ । तत्कालीन समयमा अति सुख्खा ग्रस्त क्षेत्र बाबिया खर्कमा आकाशे पानीलाई सङ्कलन गरी पाँच सय रोपनी जमिन सिँचाइ गरी तरकारी उत्पादन गर्ने उद्देश्यले यो पोखरी बनाइएको थियो । तर पोखरी अहिलेसम्म प्रयोगमा नै आउन सकेको छैन । ५० वर्ष आयु भएको प्लास्टिक प्रयोग गरी त्यसमाथि माटो राखेर पोखरी निर्माण गरिएको छ । यो पोखरी ६० मिटर लम्बाई, २० मिटर चौडाइ र तीन मिटर गहिरो छ । वडाकै उच्च ठाउँमा बनेको पोखरीमा पानी जम्न नसक्दा अलपत्र अवस्थामा छ । अग्लो डाँडामा रहेको पोखरीमा पानी परेको बेलामा कतैबाट भल बगेर आउने वा नजिकै पानीको मुहान पलाउने अवस्था छैन । तत्कालीन समयमा प्राविधिक हिसाबले उपयुक्त नहुने स्थानमा पोखरी बन्दा बारीमा सिँचाइ गरी धेरै तरकारी उत्पादन गर्ने बाबिया खर्कका स्थानीयले २७ वर्ष अगाडी बुनेको सपना अहिलेसम्म पूरा हुन सकेको छैन । तत्कालीन समयमा प्राविधिक रूपमा उपयुक्त नभएको ठाउँमा पोखरी निर्माण गरिएकाले यसको संरक्षण वा सञ्चालनमा स्थानीय सरकारले तत्काल केही गर्न नसक्ने भन्दै रामेछाप नगरपालिका पन्छिँदै आएको छ ।