खिम्ती–१ आयोजनाको रोयल्टि सुनिश्चित गर्न माग

  • प्रकाशित मिति: शनिबार, भाद्र २ २०८०
  • तामाकोशी

रामेछाप । खिम्ती–१ जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय सरकारले आयोजनाले दिने रोयल्टि सुनिश्चित गर्न माग गरेका छन् । दोलखाको तामाकोशी गाउँपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको शुक्रबार संयुक्त रुपमा बसेको बैठकले गत वर्ष आयोजनाबाट जति रोयल्टि पाउनुपर्ने हो त्यति नपाएकाले रोयल्टि सुनिश्चित गर्न माग गरेको हो ।
खिम्ती १ जलविद्युत आयोजना सञ्चालन गर्नका लागि नेपाल विद्युत प्राधिकरण र हिमाल पावर लिमिटेडबीच सन् २०२० मा नयाँ संयुक्त कम्पनी निर्माण गर्नुपर्ने थियो । तर हालसम्म पनि कम्पनी निर्माण नभएकाले स्थानीय सरकारले पाउने विद्युत रोयल्टि गत वर्ष घटेको थियो । गत आर्थिक वर्ष २०७९÷८० मा तामाकोशी गाउँपालिकाले खिम्ती–१ जलविद्युत आयोजनाबाट विद्युत रोयल्टि वापत जम्मा १ करोड ७५ लाख प्राप्त गरेको थियो भने रामेछापको गोकुलगंगा गाउँपालिकाले १ करोड ३४ लाख मात्रै रोयल्टि पाएको थियो । आयोजनाबाट तोकिए बमोजिम रोयल्टि प्राप्त नहुँदा विकास निर्माणका काममा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीय सरकारले तत्काल नयाँ कम्पनी खोल्न आयोजनासँग माग गरेका हुन् । खिम्ती–१ जलविद्युत आयोजनाबाट सन् २०१५ सम्म आयोजनाका प्रभावित क्षेत्र तामाकोशी गाउँपालिका–५, ६ र ७, गोकुलगंगा गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६, लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ६, जिरी नगरपालिकाको वडा नम्बर ८ र ९ तथा मन्थली नगरपालिकाको वडा नम्बर १३ र १४ का गरी हालका १२ वटा वडाहरुले वार्षिक एक करोड रकम पाउँदै आएका थिए । तर सो रकम पनि लामो समयदेखि रोकिएको, हिमाल पावर लिमिटेडको एकल स्वामित्वको अवधि २०२० सम्मको बाँकी रकम तत्काल प्रभावित क्षेत्रमा रहेका स्थानीय निकायलाई उपलब्ध गराउन र तत्काल नयाँ कम्पनी निर्माण गर्न पनि स्थानीय तहले माग गरेका छन् । स्थानीय सरकारको संयुक्त बैठकले खिम्ती–१ जलविद्युत आयोजनाबाट ६० मेगावाट विद्युत उत्पादन भएको २३ वर्ष पुरा भएपनि आयोजनाले स्थानीयलाई शेयर उपलब्ध नगराएकाले तत्काल शेयर उपलब्ध गराउन आग्रह गरेको छ । हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच हुने संयुक्त कम्पनीले आयोजनाबाट प्रभावित जनतालाई निशुल्क १० प्रतिशत शेयर दिने प्रक्रिया तत्काल सुरुवात गर्न र कम्पनी निर्माणमा स्थानीय सरकारको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ । तामाकोशी गाउँपालिका–५ किर्नेटारमा बसेको बैठकले निर्णय कार्यान्वयन, सहजीकरण तथा समन्वय गर्न तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताव केसी संयोजक र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) सहसंयोजक रहने गरी ९ सदस्य समिति पनि गठन गरेको छ ।