रामेछाप । आर्थिक वर्ष २०८०÷०८१ लाई शिक्षाको वर्षको रूपमा मनाउने योजना अनुरूप रामेछापको खाँडादेवी गाउँपालिका विभिन्न कार्यक्रम तथा योजना अनुरूप अगाडी बढेको छ । खाँडादेवी गाउँपालिकाले चालु आर्थिक वर्षलाई शिक्षाको वर्षको रूपमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने गरी नीति, कार्यक्रम र योजना बनाएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।
‘हामीले हाम्रो कार्यकालको पाँच वर्षलाई पाँच वटा मुख्य काम गर्ने वर्षको रूपमा विभाजन गरेका छौँ, त्यो अनुसार यो वर्ष शिक्षाको वर्ष हो’, उहाँले भन्नुभयो ।
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूको गुणस्तर बढाउनका लागि विद्यालयमा साना देखि दीर्घकालीन महत्त्व राख्ने कार्यक्रमहरू सञ्चालन भइरहेको खाँडादेवी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
यही अभियान अन्तरगत खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा रहेको श्री मावि राकाथुममा केही दिनअघि विद्यार्थी, शिक्षक र अभिभावकबिच व्यापक त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
श्री मावि राकाथुमले पाँच वटा केन्द्र तयार घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो । सो अभियान अन्तरगत पाँचौँ केन्द्र श्री राकाथुम माविमा व्यापक त्रिपक्षीय छलफल भएको हो । कार्यक्रममा विद्यालयको पठन पाठन थप सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिच थप प्रतिबद्धता निर्माण गरिएको विद्यालयले जनाएको । सोही दिन कक्षा एक देखि कक्षा ५ सम्म अङ्ग्रेजी लेखन र कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी भाषण लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको पनि विद्यालयले जनाएको छ ।
