खाँडादेवीमा प्रभावकारी बन्दै एमजिएमएल कार्यक्रम, अर्काे वर्षबाट १४ विद्यालयमा सञ्चालन हुने

  • प्रकाशित मिति: शुक्रबार, साउन २६ २०८०
  • तामाकोशी

रामेछाप। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा बहु कक्षा, बहु स्तर (एमजिएमएल) शिक्षण सिकाइ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूको पठन पाठन सुधारका लागि गाउँपालिकामा आर्थिक वर्ष २०७७÷०७८ देखि यो कार्यक्रम सञ्चालनमा छ ।
अहिले गाउँपालिकाको विभिन्न वडाका ६ वटा आधारभूत विद्यालयमा बहु कक्षा, बहु स्तर शिक्षण सिकाइ कार्यक्रम सञ्चालन भइरहेको छ । जर्मन नेपाल सहयोग सङ्घको सहयोगमा शैक्षिक सशक्तीकरण केन्द्र काभ्रेसँगको सम्झौता गाउँपालिकामा बहु कक्षा, बहु स्तर(एमजिएमएल) शिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।
पछिल्लो समय आधारभूत विद्यालयहरूमा एमजिएमएल कार्यक्रम प्रभावकारी बन्दै गएको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबास स्थित पशुपति आधारभूत विद्यालयका शिक्षक दिलीप तामाङले बताउनुभयो ।
‘विद्यालयमा एमजिएमएल विधि लागु गर्न सुरुवाती चरणमा गारो नै भयो, गदै जाँदा परम्परागत बहु कक्षा शिक्षण विधि भन्दा यो विधि निकै राम्रो र प्रभावकारी लाग्यो’, उहाँले भन्नुभयो । यो विधिमा पठन पाठन गर्दा विद्यार्थीहरूको सिकाइमा गुणस्तर आएको उहाँको भनाइ छ ।
सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक सुधारका लागि एमजिएमएल विधि राम्रो भए विद्यालयहरूमा सोचे अनुसार प्रभावकारी रूपमा यो विधि लागु अझै गर्न नसकिएको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासका वडा अध्यक्ष मनोज पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘ यो दुई वा सो भन्दा बढी कक्षाका विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर उनीहरूको स्तर अनुसार शिक्षण सिकाई क्रियाकलापहरू सञ्चालन गर्ने विधि हो । यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यालयहरूमा शिक्षकहरूको उचित व्यवस्थापन अझै हुन सकेको छैन ।
अहिले खाँडादेवी गाउँपालिकाको ६ वटा आधारभूत तहका विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । यी विद्यालयहरूमा एमजिएमएल विधि प्रभावकारी देखिएकाले आगामी वर्षबाट १४ वटा विद्यालयमा यो कार्यक्रम गर्ने योजना रहेको गाउँपालिकाका शिक्षा अधिकृत मीन बहादुर थापाले बताउनुभयो । ‘एमजिएमएल परम्परागत बहु कक्षा शिक्षण विधि भन्दा पृथक् किसिमको शिक्षण विधि हो, यसबाट शिक्षक र विद्यार्थी दुवैलाई सहज हुनुका साथै पढाइको गुणस्तरमा पनि वृद्धि हुन्छ’,उहाँले भन्नुभयो । खाँडादेवी गाउँपालिकाले एमजिएमएल कार्यक्रमलाई थप प्रभावकारी बनाउन लागि परेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । ‘खाँडादेवी गाउँपालिकामा बहु कक्षा, बहु स्तर शिक्षण सिकाइ कार्यक्रम प्रभावकारी देखिएको छ, आगामी वर्षबाट अन्य विद्यालयमा पनि यो कार्यक्रम सञ्चालन गर्ने योजना छ’, उहाँले भन्नुभयो ।
के हो ? बहु कक्षा, बहु स्तर (एमजिएमएल) कार्यक्रम
खाँडादेवी गाउँपालिकाका शिक्षा अधिकृत मीन बहादुर थापाका अनुसार (एमजिएमएल) विधिमा तीब्र् सिकाई स्तर भएका र ढिलो सिकाई स्तर भएका विद्यार्थीहरूलाई आफ्नो क्षमता अनुसार तोकिएको समयावधि भित्र सिकाई कार्डको प्रयोग गरेर सिकाइका आधारमा तोकिएको समयभित्र शिक्षण सिकाई क्रियाकलापहरू सञ्चालन गरी तोकिएका उद्देश्यहरू पूरा गर्नुपर्छ । यो चाही दुई वा सो भन्दा बढी कक्षाका विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर उनीहरूको स्तर अनुसार शिक्षण सिकाई क्रियाकलापहरू सञ्चालन गर्ने विधि हो । यो परम्परागत बहु कक्षा शिक्षण विधि भन्दा पृथक किसिमको शिक्षण विधि हो ।