रामेछाप । रामेछापमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । जिल्लाका सबै आँखा केन्द्रहरूमा आँखा पाक्ने, रातो हुने, चिलाउने, कचेरा लाग्ने , आँखाबाट आशु बगिरहने,आँखा सुनिने,दुख्ने बिझाउने, घाम तथा उज्यालो प्रकाशमा हेर्न समस्या हुने जस्ता बिरामी बढेका छन् ।
अहिले जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा सदरमुकाम मन्थली, पुरानो सदरमुकाम रामेछाप बजार लगायतका बजार क्षेत्रमा आँखा पाक्ने सङ्क्रमण व्यापक रूपमा फैलिएको रामेछाप सर्जिकल आइज सेन्टर मन्थलीका प्रमुख उमेश तामाङले बताउनुभयो । विद्यार्थीहरूमा आँखाको सङ्क्रमण बढी मात्रामा फैलिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘‘अहिले आँखा पाक्ने सङ्क्रमण फैलिएको छ । आँखा केन्द्रमा आउने आँखाका बिरामीहरू मध्ये ८० प्रतिशतमा आँखा पाक्ने सङ्क्रमण देखिएको छ । त्यसमा पनि विद्यालय उमेरका विद्यार्थीहरूमा यो रोगको संक्रमण व्यापक छ ।’’
रामेछाप जिल्लामा आँखा सम्बन्धी रोगको उपचार गर्ने पाँच वटा आँखा केन्द्रहरू सञ्चालनमा छन् । जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पतालमा रामेछाप सर्जिकल आइज सेन्टर, मन्थली अस्पतालमा मन्थली सामुदायिक आँखा केन्द्र र जिल्ला अस्पताल रामेछापमा सहरी आँखा केन्द्रले आँखा सम्बन्धी परीक्षण तथा उपचार सेवा दिँदै आएका छन् । त्यसै गरी जिल्लाको खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा पनि ग्रामीण आँखा केन्द्रले आँखा सम्बन्धी सेवा प्रदान गर्दै आएका छन् ।
केही समय अगाडिसम्म २० देखि २५ जना सम्म आँखाको बिरामी आउने रामेछाप सर्जिकल आइज सेन्टरमा अहिले दैनिक ८० जनासम्म आँखाका बिरामी आउने गरेको प्रमुख तामाङले बताउनुभयो । उहाँका अनुसार मन्थली सामुदायिक आँखा केन्द्र मन्थली र सहरी आँखा केन्द्र रामेछाप डाँडा र लिखुतामाकोशी गाउँपालिका र खाँडादेवी गाउँपालिकामा रहेको ग्रामीण आँखा केन्द्रमा पनि आँखाका बिरी बढेको बताउनुभयो । आँखा पाक्ने रोगबाट आँखा सुनिने, आँखा बिझाउने, आँसु आइरहने गर्छ । यो सामान्य अवस्था भएकाले डराउनु नपर्ने र दुई हप्तासम्म घरमै हेरचाह गरे निको हुन सक्छ ।
तर, सङ्क्रमण बढ्दै गएर आँखाको नानीमा घाउ हुनेसम्मको समस्या आयो भने जोखिमपूर्ण र जटिल हुने रामेछाप सर्जिकल आइज सेन्टर मन्थलीका प्रमुख तामाङले बताउनुभयो । आँखा पोलेको महसुस भएमा बरफ वा आइसले सेक्ने, सफा पानीले पटक पटक आँखा सफा गर्ने, कालो चस्मा लगाउने, प्रशस्त पानी पिउने, आँखा छुनु अगाडि हात राम्रोसँग धुने, सङ्क्रमित आँखालाई नछुने, भिडभाड हुने ठाउँमा सकेसम्म नजाने, अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने, चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने उहाँको सुझाव छ ।
रामेछापमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै, विद्यार्थी बढी प्रभावित
- प्रकाशित मिति: मंगलबार, साउन २३ २०८०
- तामाकोशी