लम्पी स्किनले किसानको गोठ रित्तिँदै

  • प्रकाशित मिति: शुक्रबार, साउन १९ २०८०
  • तामाकोशी

नवराज वि.क
रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ५ नागदहका ५२ वर्षीय बुद्धि बहादुर कामीको हिजो आज दिनमा भोक र रातमा निद्रा हराएको छ। लम्पी स्किन रोगले हलको गोरु मरेपछि बुद्धि बहादुरको भोक र निद्रा दुवै हराएको हो ।

सङ्क्रमणबाट मन्थली नगरपालिकामा ३२, रामेछाप नगरपालिकामा १४०, लिखुतामाकोशी गाउँपालिमा १४९, उमाकुण्ड गाउँपालिकामा ३५, गोकुलगंगा गाउँपालिकामा ५५, दोरम्बा शैलुङ गाउँपालिकामा २०३, सुनापती गाउँपालिकामा ३६ र खाँडादेवी गाउँपालिकामा २७ वटा पशुचौपाय लम्पी स्किन रोगबाट मरिसकेका छन् ।



आफ्नो परिवारको सदस्य जस्तै माया गरेर पालेको हल गोरु मरेपछि यति बेला उहाँलाई ठुलो चिन्ता परेको छ । गोरु मरेकै कारण बुद्धिबहादुरको खेतबारी बाझै छन् । मरेका गोरुको सम्झनाले उहाँलाई आजकल घरमा समेत बस्न मन लाग्दैन ।
परिवारको सदस्य जस्तै गरेर पालेको हल गोरु मरेपछि खेतबारी बाँझै भएको उहाँले बताउनुभयो । ‘भोक, तिर्खा, झरी, बादल, घाम, पानी नभनी परिवारको सदस्य जस्तै गरेर पालेको गोरु एक महिना थला परेर म¥यो , बचाउन धेरै प्रयास गर्दा पनि बचाउन सकिएन, गोरु विनाको गोठ अहिले विरक्त लाग्दो बनेको छ’, उहाँले भन्नुभयो ।

अहिले धमाधम कोदो रोप्ने बेला भएकाले अब कसरी जोतेर खेतीपाती गर्ने भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो। यस्तो बेलामा वडा सरकारले पनि कुनै सहयोग नगरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “गरिब दुःखीको पीडा सुन्ने कोही हुँदो रहेनछ । यस्तो महामारीले छटपटाई छटपटाई पशु वस्तु मरेपछि म जस्ता गरिब किसानलाई खपी नसक्नुको पीडा भएको छ । तर हामी जस्ताको पीडा सुन्ने यहाँ कोही छैनन् ।’’
रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारका ६२ वर्षीय रामजी ढकालको पनि पीडा उस्तै छ। एक वर्षअघि मात्रै २५ हजार रुपैयाँ तिरेर ल्याएको गोरु लम्पी स्किन रोगले लामो समय गलेर मरेपछि ढकाललाई खेतीपातीको चिन्ताले सताएको छ । ढकालले भन्नुभयो ‘‘६÷७ हजार रुपैयाँको औषधी उपचार गरे, गोरु बचाउन सकिन । लामो समय थला परेर गोरु मरेपछि अहिले गोठमै जान मन लाग्दैन । हामी किसानको पीडा कसैले सुन्ने रहेनछ; सिंहदरबारको अधिकार गाउँ घरमै आयो रे ! भन्छन् तर खै कहाँ आयो ? थाहा पाउन सकिएन ।’’स्थानीय सरकारले किसानको पीडा नबुझेको गुनासो गर्दै उनले भने तपाइदलेचाहिँ हाम्रो पीडा सम्बन्धित ठाउँसम्म पु¥याइदिनु है !

रामेछापमा गाई, गोरुमा मात्रै होइन किसानले हिमाली क्षेत्रमा पलेका चौँरीमा समेत यो रोगले ठुलो क्षति पु¥याएको छ जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकास्थित शैलुङ क्षेत्रमा किसानले पालेका चौँरी अहिले भटाभट मर्न थालेका छन् । शैलुङमा १४ गोठमा रहेका ४८० वटा चौँरीमा लम्पी स्किनको सङ्क्रमण फैलिएपछि हालसम्म ४५ वटा मरिसकेका छन् । अहिले बाँकी ४ सय ३५ वटा चौँरी पनि सङ्क्रमणबाट थलिएको स्थानीय अगुवा कृषक दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका ४० वर्षीय दावा साङ्बु शेर्पाले बताउनुभयो । ‘वैशाखदेखि कात्तिक सम्मको समय चौँरी व्यवसायबाट प्रशस्त आम्दानी लिने समय हो तर अहिले सबै चौँरी सङ्क्रमित भएपछि आम्दानीको सबै स्रोत ठप्प भएको छ’, उहाँले भन्नुभयो । किसानका अनुसार अहिले एउटा चौँरीको मूल्य ८० हजार रुपैयाँ पर्छ । ४५ वटा चौँरी मर्दा ३६ लाख रुपैयाँ बराबरको क्षति भइसकेको छ । जङ्गलको छेउ चाँचरी पालेर बसेका किसानले औषधी पनि समयमा ल्याउन सक्दैनन् । स्थानीय सरकारले पनि अहिलेसम्म चौँरीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि कुनै कार्यक्रम सञ्चालन नगरेको उहाँको भनाइ छ ।

रामेछापका सबै स्थानीय तहमा लम्पी स्किन रोग व्यापक रूपमा फैलिएको छ । जसबाट धेरै पशु चौपायामा क्षति पुग्दा किसानहरू ठुलो मारमा परेका छन् । तर यसको रोक थाम, नियन्त्रण र उपचारमा भने स्थानीय तहले उदासीनता देखाएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद–३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारबारे दफा ११ को (ण) ४ मा कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने, भनिएको छ । तर किसानलाई पेन्सन दिनेदेखि लिएर सहुलियत कर्जा उपलब्ध गराउने सम्मको कुरा गर्ने सरकार र जनप्रतिनिधिले लम्पी स्किन महामारी नियन्त्रणमा कुनै चासो देखाएका छैनन् । साउन १६ गतेको तथ्याङ्क अनुसार रामेछापमा २८ हजार ४८२ पशु चौपाया लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । हालसम्म जिल्ला भर ६७७ पशु वस्तु मरिसकेका छन् । अहिले जिल्लाको मन्थली नगरपालिकामा दुई हजार ८५०, रामेछाप नगरपालिकामा दुई हजार ६३७, लिखतामाकोशी गाउँपालिकामा ८ हजार ४२०, उमाकुण्ड गाउँपालिकामा एक हजार ५००, गोकुलगंगा गाउँपालिकामा ४ हजार ५६९, दोरम्बा शैलुङ गाउँपालिकामा दुई हजार ८१६, खाँडादेवी गाउँपालिकामा ४ हजार र सुनापती गाउँपालिकामा एक हजार ६९० पशु चौपायामा लम्पी स्किन सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको सम्पर्क कार्यालय रामेछापका सूचना अधिकारी प्रकाश थापाले बताउनुभयो । उहाँकाअनुसार लम्पी स्किनको सङ्क्रमणबाट मन्थली नगरपालिकामा ३२, रामेछाप नगरपालिकामा १४०, लिखुतामाकोशी गाउँपालिमा १४९, उमाकुण्ड गाउँपालिकामा ३५, गोकुलगंगा गाउँपालिकामा ५५, दोरम्बा शैलुङ गाउँपालिकामा २०३, सुनापती गाउँपालिकामा ३६ र खाँडादेवी गाउँपालिकामा २७ वटा पशुचौपाय लम्पी स्किन रोगबाट मरिसकेका छन् ।