रामेछाप । रामेछाप जिल्लामा गत एक वर्षमा ट्राफिक नियम विपरीत सञ्चालन भएका ८ हजार ८०८ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सञ्चालन भएका यी सवारी साधन कारबाहीबाट गत आर्थिक वर्ष २०७९÷०८० मा ८० लाख ५९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
जिल्लामा २०७९ साउन १ गते देखी २०८० साउन १० गतेसम्म भएका सवारी दुर्घटना परी १३ जनाले ज्यान गुमाएको पनि उहाँले बताउनुभयो । यो एक वर्षको अवधिमा जिल्लाको विभिन्न स्थानमा ३० वटा सवारी दुर्घटना भएको र यी दुर्घटनामा परी १३ जनाको ज्यान गएको उहाँको भनाइ छ । ‘यो एक वर्षको अवधिमा रामेछापमा ३० वटा सवारी दुर्घटना भएका छन्, यी दुर्घटनामा ३४ वटा सवारी साधन संलग्न भएका छन्, सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ’, उहाँले भन्नुभयो । दुर्घटनामा परी यो एक वर्षमा १८ जना गम्भीर सहित ९४ जना घाइते भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिक वर्ष २०७९÷८० मा सवारी दुर्घटना र ज्यान गुमाउनेको सङ्ख्या कम भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ३३ वटा सवारी दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए भने ९८ जना घाइते भएका थिए । जिल्लामा हुने गरेका दुर्घटनाका घटनाको मुख्य कारणहरूमा ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउने,तीव्र गतिले चलाउने,यान्त्रिक गडबडी,सडकको अवस्था लगायत रहेको उहाँले बताउनुभयो । ‘ट्राफिक नियमका बारेमा सचेतनाका लागि विद्यार्थीसँग ट्राफिक, चालक स्वास्थ्य परीक्षण, चालक र यात्रुसँग पाँच मिनेट जस्ता कार्यक्रम सहित ठाउँ ठाउँमा सचेतनामूलक सूचना बोर्डहरू राख्ने काम गरिएको छ’, उहाँले भन्नुभयो ।
रामेछापमा एक वर्षमा ८ हजार ८ सय बढी सवारीलाई कारबाही
- प्रकाशित मिति: आइतबार, साउन १४ २०८०
- तामाकोशी