रामेछाप । रामेछापको मन्थली नगरपालिकामा लामो समयदेखि अलपत्र बनेको तरकारी तथा फलफूल चिस्यान केन्द्र बल्ल निर्माण सम्पन्न भएको छ । निर्माण व्यवसायीले स्थानीय सरकारलाई समयमै हस्तान्तरण नगर्दा लामो समयदेखि यो चिस्यान केन्द्र अलपत्र बनेको थियो ।
निर्माण सम्पन्न भएको यो चिस्यान केन्द्रको व्यवस्थापन र सञ्चालन कसरी गर्ने भन्ने बारेमा वाग्मती प्रदेश सरकारसँग छलफल र समन्वय गर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । ‘परीक्षण समेत भइसकेको चिस्यान केन्द्रमा व्यवस्थित घेरा बार, यसको रेखदेख र व्यवस्थापन गर्ने कर्मचारी, बस्ने घर, शौचालय तत्कालै आवश्यक छ, यी कुराहरूको व्यवस्थापनका लागि प्रदेश सरकारसँग छलफल गरेर अगाडी बढ्छौँ’, उहाँले भन्नुभयो ।
लामो समयदेखि बेवारिसे बनेको चिस्यान केन्द्र अहिले निर्माण सम्पन्न भएर सफल परीक्षण भएपछि खुसी लागेको स्थानीय पूर्ण सुवेदीले बताउनुभयो । अब रामेछापका विभिन्न स्थानमा उत्पादन हुने जुनार लगायतका अमिलो जातका फलफूल, किवी, आलु, विभिन्न जातका तरकारी उत्पादन गर्ने किसानहरू सहजता हुने उहाँको विश्वास छ ।
चिस्यान केन्द्र निर्माण भए पनि यसको संरक्षण, व्यवस्थापन र सञ्चालनमा अझै विश्वास नरहेको अर्का स्थानीय शिव सुवेदी बताउनहुन्छ । चिस्यान केन्द्रमा सामान्य घेरा बार, शौचालय, पाले घर समेत नरहेकाले यी कुराहरूको तत्कालै व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
वाग्मती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड १० लाख रुपैयाँको साझेदारीमा इजि इन्फा प्रालि काठमाडौँले निर्माण गरेको यो चिस्यान केन्द्र ५ सय मेट्रिक टन क्षमताको छ । यो चिस्यान केन्द्रमा ५० केजीको १० हजार बोरा फलफूल तथा तरकारी जन्य उपजहरू चिस्यानका लागि राख्न सकिने इजि इन्फा प्रालिका प्राविधिक सुमन गौतमले बताउनुभयो ।
जिल्ला भर उत्पादन भएको तरकारी तथा फलफूल जन्य उपजहरुलाई चिस्यान गर्ने उदेश्यले निर्माण गरिएको यो चिस्यान केन्द्र डेढ वर्ष अगि नै लगभग काम सकिएको थियो । तर वाग्मती प्रदेश सरकार, स्थानीय सरकार निर्माण पुरा गरी संचालनमा ल्याउन खासै गम्भीर नबन्दा अहिलेसम्म अलपत्रै अवस्थामा थियो । डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएर पनि प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा निर्माण सकिएर पनि चिस्यान केन्द्र हस्तन्तरण गर्न नसकिएको निर्माण कम्पनी इजि इन्फा प्रालि काठमाडौंका उत्तम पौडेलले बताउनुभयो ।
दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका जिल्ला सदरमुकाम मन्थली केन्द्रित भएर यस्ता ठुला ठुला योजनाहरू निर्माण भएका छन् । कति यस्ता योजनाहरू सम्पन्न भइसकेका छन् भने कति योजनाहरू अझै अलपत्र छन् । मन्थलीमा निर्माण भएका यस्ता संरचनाहरूको व्यवस्थापन र सञ्चालन मन्थली नगरपालिकाको टाउको दुखाइको विषय बनेको छ । निर्माण सम्पन्न भएको यो चिस्यान केन्द्रको व्यवस्थापन र सञ्चालन कसरी गर्ने भन्ने बारेमा वाग्मती प्रदेश सरकारसँग छलफल र समन्वय गर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
‘परीक्षण समेत भइसकेको चिस्यान केन्द्रमा व्यवस्थित घेरा बार, यसको रेखदेख र व्यवस्थापन गर्ने कर्मचारी, बस्ने घर, शौचालय तत्कालै आवश्यक छ, यी कुराहरूको व्यवस्थापनका लागि प्रदेश सरकारसँग छलफल गरेर अगाडी बढ्छौँ’, उहाँले भन्नुभयो । चिस्यान केन्द्रको सञ्चालन र व्यवस्थापनमा पनि निर्माण गर्दा जस्तै प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत दायित्व हुनुपर्ने उहाँको भनाइ छ ।
मन्थली नगरपालिका–१ सानीमदौमा तीन वर्ष अगाडी निर्माण सुरु भएको चिस्यान केन्द्र मन्थली नगरपालिकाको ३० प्रतिशत लगानी छ । नगरपालिकाले आफ्नो लगानी पनि प्रदेश सरकारको कृषि मन्त्रालयलाई उपलब्ध गराएपछि चिस्यान केन्द्र निर्माणका लागि टेन्डर आह्वानदेखि निर्माण सम्म वाग्मती प्रदेश सरकारले नै गरेको थियो । यस बाहेक मन्थली नगरपालिकाले आफ्नो लगानीमा चिस्यान केन्द्रसम्म आवश्यक विद्युत् पु¥याइ टिओडी मिटर जडान गरेको छ ।