अधिकार खोज्दै गर्दा कर्तव्य पनि भुल्नु हुँदैन : लव श्रेष्ठ

  • प्रकाशित मिति: शनिबार, साउन ६ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले आफ्नो अधिकार खोज्दै गर्दा कर्तव्य पनि भुल्न नहुने बताउनुभएको छ । शनिवार सदरमुकाम मन्थलीमा भएको राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखाको पहिलो जिल्ला भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुक परिवर्तनका लागि विभिन्न कालखण्डमा बनेका विभिन्न सङ्घ सङ्गठनहरूले समेत पछिल्लो समय अधिकार खोज्दै गर्दा आफ्नो कर्तव्य र सामाजिक दायित्व भुलिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘‘हिजो विभिन्न कालखण्डको अप्ठेरो परिस्थितिमा धेरै सङ्घ सङ्गठनहरू बनेका छन् । त्यस समयमा राजनीतिक हिसाबले सहज होस् भन्ने उद्देश्यले सङ्घ सङ्गठनहरू बनेका हुन् । तर अहिले यी सङ्घ सङ्गठनहरूले आफ्नो अधिकार मात्रै खोजेर कर्तव्य भने भुलिरहेका छन् ।’’
जनप्रतिनिधिहरूबाट हुने कमजोरीहरूलाई जस्ताको त्यस्तै औँल्याएर खबरदारी गरिदिन पनि पत्रकारहरूलाई उहाँले आग्रह गर्नुभयो । उहाँले पत्रकारहरूले जनप्रतिनिधिहरूले कमजोरी गरे खबरदारी गर्ने र राम्रो काम गरेको छ भने कमसेकम राम्रै भन्न सक्नुपर्ने बताउनुभयो । ‘राम्रोलाई त राम्रो भन्न के भोर? हामी त बेसारलाई बेसार भन्छौँ, अदुवालाई अदुवा भन्छौँ, बेसारलाई अदुवा भन्यो भने हाम्रो कुनै पनि नीति प्रस्ट छैन ढुलमुले हुन्छ’, उहाँले भन्नुभयो । काम गर्ने क्रममा भएका गल्ती औँल्याएको खण्डमा त्यो स्वीकार गर्दै सच्याउन जनप्रतिनिधिहरू तयार रहेको समेत उहाँले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले पत्रकारिता वास्तविकता चित्रण गर्ने हुनुपर्ने समेत बताउनुभयो ।